काठमाडौं आइपुगे भारतीय स्थल सेनाध्यक्ष द्विवेदी

काठमाडौं आइपुगे भारतीय स्थल सेनाध्यक्ष द्विवेदी

काठमाडौं, ५ मंसिर । भारतीय  स्थल सेनाका प्रमुख उपेन्द्र द्विवेदी काठमाडौं आइपुगेका छन् । प्रधानसेनापति अशोकराज सिग्देलको निमन्त्रणामा उनी पाँच दिने नेपाल भ्रमणका लागि काठमाडौं आएका हुन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएलगत्तै द्विवेदीलाई नेपाली सेनाको युद्धकार्य विभागका महानिर्देशक उपरथी प्रेमध्वज अधिकारीले स्वागत गरेका थिए ।

अधिकारी नेपालको तर्फबाट संयुक्त राष्ट्र संघको सल्लाहकार पदका लागि उम्मेदवार पनि हुन् ।

उनले आज (बिहीबार) राष्ट्रपति रामचन्द्र पौडेलबाट नेपाली सेनाको मानार्थ महारथीको दज्र्यानी चिह्न प्राप्त गर्ने कार्यक्रम छ । नेपाल र भारतीय सेनाबीच एकअर्काको देशमा मानार्थ महारथीको सम्मान दिने परम्परा रहेको छ ।

भारतीय सेनाध्यक्ष द्विवेदी ९ मंसिरसम्म नेपालमा रहने छन् । त्यसक्रममा उनले राष्ट्रपति पौडेल, प्रधानमन्त्री केपी शर्मा ओली, रक्षामन्त्री मानविर राई लगायतसँग शिष्टाचार भेटघाट गर्ने छन् । 

द्विवेदीले १ नोभेम्बर २०२४ देखि भारतीय स्थल सेनाको २९ औं प्रमुखका रुपमा जिम्मेवारी सम्हालेका थिए ।