कोशी प्रदेशका मुख्यमन्त्री कार्कीको निवासमा शंकास्पद वस्तु

विराटनगर, ८ मंसिर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीको झापास्थित घर अगाडि शंकास्पद वस्तु भेटिएको छ ।
आज (शनिबार) बिहान गौरादह नगरपालिका-३ डिपु चोकमा रहेको कार्कीको घर अगाडि शंकास्पद वस्तु फेला परेको हो । उनको घर अगाडि प्लास्टिकले बेरेर दुई वटा बोतलमा शंकास्पद वस्तु राखिएको छ ।
विराटनगरबाट मुख्यमन्त्री कार्की आज बिहान घर आइपुगेका थिए । मुख्यमन्त्रीका प्रेस सल्लाहकार विक्रम लुइँटेलका अनुसार, बिहान घरमा आमालाई भेटेर उनी बाह्रदशी गाउँपालिकामा आयोजित कार्यक्रममा सहभागी हुन गएका थिए ।
शंकास्पद वस्तु भेटिएको जानकारी आएपछि प्रहरी टोली पुगेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता कृष्णकुमार चन्दले जानकारी दिए ।