सरकारी वकिलको कार्यालयमा सुरू भयो रवि लामिछानेको बयान
काठमाडौं, १४ मंसिर । रास्वपा सभापति रवि लामिछानेलाई वयानका लागि सरकारी वकिलको कार्यालयमा उपस्थित गराइएको छ । अहिले उनको वयान लिइँदैछ ।
सहकारी रकम अनियमितता प्रकरणमा पक्राउ परेका लामिछानेलाई काठमाडौंको जिल्ला सरकारी वकिलको कार्यालयमा वयानका लागि आज(शुक्रवार) बिहान उपस्थित गराइएको हो ।
कास्की प्रहरीको हिरासतमा रहेका लामिछानेलाई हिजो (विहीबार) बेलुका वयानका लागि काठमाडौं ल्याइएको थियो ।
काठमाडौंको कालिमाटीस्थित स्वर्णलक्ष्मी सहकारीको रकम हिनामिना प्रकरणमा लामिछानेविरुद्ध २ मंसिरमा पक्राउ पुर्जी जारी गरिएको थियो । उनीसँगै पक्राउ अनुमति जारी भएका छविलाल जोशीको वयान लिएर प्रहरीले पोखरा फिर्ता पठाइसकेको छ ।
प्रहरीले स्वर्णलक्ष्मी सहकारीमा छापा मारेर केही कागजातहरू जफत गरेको थियो, जसमा गाडी किन्न भनेर रवि लामिछाने र जिबी राईले दुई पटक गरेर ४६/४६ लाख रुपैयाँ लिएको फेला पारेको थियो । यसपछि उनी छानबिनको दायरामा तानिएका हुन् ।
पोखराको सूर्यदर्शन सहकारीमार्फत गोर्खा मिडिया प्रा.लि.मा गएको रकम अपचलन प्रकरणमा प्रहरीले लामिछानेलाई २ कात्तिकमा वनस्थलीस्थित पार्टी कार्यालयबाट हिरासतमा लिएको थियो ।