पश्चिम दाङ जोड्ने सडक निर्माण सुरु

तुलसीपुर (दाङ), १४ मङ्सिर । पश्चिम दाङ जोड्ने तुलसीपुरको गहतेदेखि शान्तिनगरको बाघमारेसम्म सडक निर्माण सुरु भएको छ ।
सडक पूर्वाधार विकास कार्यालयका प्रमुख मनिषकुमार अर्यालका अनुसार माथिल्लो सडकको भमकेबाट निर्माण सुरु भएको हो । साढे तीन मिटर चौडा सो सडकलाई साढे पाँच मिटर चौडा बनाइने छ ।
शारदा निर्माण सेवासहित तीन ठेकेदार कम्पनीलाई गत वर्ष रु एक करोड ४० लाख र चालु वर्षमा रु एक करोड ८२ लाख पेश्की प्रदान गरिएको छ । “अहिले पर्याप्त बजेट छैन, ठेकेदार कम्पनीले पेश्कीका आधारमा काम सुरु गरेको छ”, उनले भने ।
हाल गहतेखोलाबाट आठ दशमलव आठ किलोमिटरसम्मलाई स्तरवृद्धि गरेर साढे पाँच मिटर चौडाइ बनाइने छभने त्यसलाई कालोपत्र पनि गरिने जनाइएको छ ।
उक्त सडक स्तरवृद्धिका लागि १६ करोड ५० लाखमा सम्झौता भएको छ । उक्त सडकको बिहीबार लुम्बिनी प्रदेशसभा सदस्य तथा प्रदेशका पूर्वअर्थमन्त्री धनबहादुर मास्कीले अनुगमन गरे ।