परराष्ट्रमन्त्री डा राणा छन्दुस्थित महावाणिज्यदूतावासमा

काठमाडौँ, १४ मङ्सिर । परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले आज चीनको सिचुवान प्रान्तस्थित छन्दुमा रहेको नेपाली महावाणिज्यदूतावासको निरीक्षण गरेकी छिन् ।
त्यस अवसरमा उनलाई महावाणिज्यदूत सुरेश राउतसहितका कर्मचारीहरुले स्वागत गरेका थिए । मन्त्री डा राणालाई महावाणिज्यदूत राउतले महावाणिज्यदूतावासका कामकारबाहीका बारेमा जानकारी गराएका परराष्ट्रमन्त्रीको सचिवालयले जनाएको छ ।
मन्त्री डा राणाले आगामी वर्ष नेपाल र चीनबीच औपचारिक कूटनीतिक सम्बन्ध स्थापनाको ७०औँ वार्षिकोत्सवको अवसर पारेर नेपाल र चीन सरकारद्वारा संयुक्त रूपमा घोषणा गरिएको नेपाल भ्रमण वर्ष २०२५ को स्मरण गराउँदै यस पृष्ठभूमिमा महावाणिज्यदूतावासलाई नेपालको पर्यटन प्रवद्र्धनका कार्यक्रम सञ्चालन गर्न सुझाव दिइन् ।
यस कार्यक्रमबाट दुवै देशको पर्यटन प्रवद्र्धन हुनुका साथै जनस्तरको सम्बन्धलाई अझ सुदृढ बनाउने विश्वास उनले व्यक्त गरिन् । मन्त्री डा राणाले नेपाली चिया, कफी, औषधिजन्य तथा सुगन्धित जडीबुटीजस्ता नेपालका विशिष्ट उत्पादनहरूलाई चिनियाँ बजारमा प्रवद्र्धन गर्ने कार्यमा लाग्न निर्देशन दिइन् ।
त्यस अवसरमा मन्त्री डा राणाले नेपाल चीन सम्बन्धलाई आर्थिक, सांस्कृतिक तथा जनस्तरमा थप सुदृढ बनाउनुपर्नेमा जोड दिएकी छिन् । महावाणिज्यदूतावासमा आयोजित अन्तरक्रियामा चीनका लागि नेपाली राजदूत डा कृष्णप्रसाद ओलीलगायत पनि सहभागी भएका परराष्ट्र मन्त्रालयले जनाएको छ ।