सरकारी वकिलको कार्यालय काठमाडौँमा रविको बयान जारी
काठमाडौं, १६ मंसिर । रास्वपाका सभापति रवि लामिछानेलाई सरकारी वकिलको कार्यालयमा उपस्थित गराइएको छ । कालिमाटीस्थित स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी रकम अपचलनसम्बन्धमा अनुसन्धानका लागि उनलाई पोखराबाट बिहीबार काठमाडौं ल्याइएको थियो । आज (आइतबार) सरकारी वकिलको कार्यालयमा उनको बयान चलिरहेको छ ।
शुक्रबारदेखिनै उनको बयान लिन थालिएको हो । शुक्रबार बिहान ९ बजेदेखि दिउँसो साढे ३ बजेसम्म जिल्ला सरकारी वकिलको कार्यालयमा उनको बयान लिइएको थियो ।
काठमाडौंको स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा लामिछानेविरुद्ध २ मंसिरमा पक्राउ अनुमति जारी गरिएको थियो । उनीसँगै पक्राउ अनुमति जारी भएका छविलाल जोशीलाई बयान लिएर प्रहरीले पोखरा फिर्ता पठाइसकेको छ ।
प्रहरीले पहिले स्वर्णलक्ष्मी सहकारीमा छापा मारेर केही कागजातहरू समेत बरामद गरेको बताएको थियो, जसमा गाडी किन्न भनेर रवि लामिछाने र जिबी राईले दुई पटक गरेर ४६÷४६ लाख रुपैयाँ लिएको फेला पारेको थियो ।
त्यसपछि लाछिमाने छानबिनको दायरामा तानिएका हुन् । पोखरास्थित सूर्यदर्शन सहकारीमा बचतकर्ताको रकम हिनामिना प्रकरणमा प्रहरीले लामिछानेलाई २ कात्तिकमा प्रहरीले वनस्थलीस्थित पार्टी कार्यालयबाट हिरासतमा लिएको थियो ।
पहिले उनीमाथि सहकारी ठगी र संगठित अपराधमा अनुसन्धान थालिएको थियो भने त्यसपछि कास्की प्रहरीले सम्पत्ति शुद्धिकरणको कसुरमा अनुसन्धान अघि बढाएको थियो । बुटवलको सुप्रिम सहकारी, चितवनको साहारा सहकारी लगायतमा भएको रकम अनियमिततामा पनि रविमाथि अनुसन्धान जारी छ ।
यसबीचमा ऋण तिर्न भन्दै लामिछानेले काटेका चेकहरु समेत बरामद गरेको छ भने लामिछाने र उनकी पत्नीको खातामा भएको कम्तिमा ५० करोड रुपैयाँ बराबरको कारोबारबारे पनि जाँच गरिरहेको प्रहरीले जनाएको छ ।