दृष्टिविहीन क्रिकेट विश्वकप यात्रामा नेपाल सेमिफाइनलमै रोकियो

दृष्टिविहीन क्रिकेट विश्वकप यात्रामा नेपाल सेमिफाइनलमै रोकियो

काठमाडौं, १६ मंसिर । पाकिस्तानमा जारी ब्लाइण्ड टी–२० क्रिकेट विश्वकपमा नेपालको यात्रा सेमिफाइनलमै रोकिएको छ । पहिलोपटक सेमिफाइनलमा पुगेको नेपाल  पाकिस्तानसँग १० विकेटले पराजित हुन पुगेको हो । 

नेपालले प्रस्तुत गरेको ९५ रनको लक्ष्य पाकिस्तानले ५.३ ओभरमा कुनै पनि विकेट नगुमाएरै पूरा गर्‍यो । पाकिस्तानका कमरान अख्तरले सर्वाधिक ६३ रन जोडे भने  बाबर अलीले ३२ रन बनाए ।

त्यसअघि पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ७ विकेटको क्षतिमा ९४ रनको योगफल बनाएको थियो ।

नेपालका लागि दुर्गादत्त पौडेलले सर्वाधिक ४० रनको योगदान गरेका थिए । पाकिस्तानका मतिउल्लाहले ४ ओभरमा ५ रन दिएर ३ विकेट हात पारे ।

पहिलो र दोस्रो खेलमा पराजित भएको नेपालले त्यसपछि दुई खेलमा जित हाँसिल गरेको थियो  भने अन्तिम खेलमा पाकिस्तानसँग नै १० विकेटले पराजित भएको थियो । हालसम्म अपराजित पाकिस्तान उपाधिको दाबेदार रुपमा रहेको छ ।