एनपीएलमा विराटनगर किङ्सको पहिलो जित, २ विकेटले लुम्बिनी चुक्यो
काठमाडौं, १९ मंसिर । विराटनगर किंग्सले जारी नेपाल प्रिमियर लिग एनपीएलमा पहिलो जित हाँसिल गरेको छ ।
सन्दीप लामिछाने कप्तान रहेको विराटनगर किंग्सले रोहित पौडेलको कप्तानीमा रहेको लुम्बिनी लायन्सलाई २ विकेटले हराउँदै जित निकालेको हो । विराटनगरले लगातार दुई पराजयपछि पहिलो जित निकाल्दा लुम्बिनीले पहिलो खेलमै हार व्यहोरेको छ ।
लुम्बिनीले दिएको १९२ रनको लक्ष्य विराटनगरले १ बल बाँकी छँदा ८ विकेट गुमाएर पूरा गरेको हो । अन्तिम ओभरमा विराटनगरलाई जितका लागि १६ रन आवश्यक थियो । क्रिजमा सन्दीप लामिछाने र दिपक बोहरा थिए ।
विवेकले पहिलो बलमा सन्दीपलाई दुई वाइड फालेपछि आउट गरे । त्यसपछि उनले दोस्रो बलमा क्रिस सोललाई डट फाले । तर त्यसपछि भने सोलले लगातार तीन बाउण्ड्री हानेर खेल जिताए ।
सोलले तेस्रो बलमा छक्का तथा चौथो र पाँचौ बलमा लगातार चौका प्रहार गरे । सोलले ४ बलमा अविजित १४ रन जोडे । दिपक बोहरा ९ रनमा अविजित रहे ।
विराटनगरको जितको आधार खडा गरेका ओपनर लोकेश बमले सर्वाधिक ७१ रन बनाए । उनले ४७ बल खेल्दै ३ चौका र ६ छक्का हाने। यस्तै बसिर अहमदले २३ बल खेल्दै ४ चौका र १ छक्का मदतमा ४० रन बनाए ।
मार्टिन गप्टिलले १७ बलमा ६ चौका प्रहार गर्दै २८ रन जोडे । लोकेश र गप्टिलले दोस्रो विकेटका लागि ६२ रनको साझेदारी गरे । यस्तै लोकेशले पाँचौ विकेटका लागि बसिरसँग ८७ रनको महत्वपूर्ण साझेदारी गरेका थिए । जुन खेलको जितमा आधार बनेको थियो ।
बलिङमन लुम्बिनीका लागि दुरग्श गुप्ताले ४ ओभरमा २१ रन खर्चेर ३ विकेट झारे ।
यस्तै साद विन जफर र रामोन सिमोण्ड्सले समान २/२ विकेट लिए । सादले ३५ तथा सिमोण्ड्सले ३३ रन खर्चिए । सबैभन्दा महँगा बनेका विवेकले ३.५ ओभरमा ६४ रन खर्चेर १ विकेट लिए ।