जनकपुर बोल्ट्सको तेस्रो जित, पोखरा सात विकेटले पराजित
काठमाडौं, २० मंसिर । जिमी नीशमको अलराउण्ड प्रदर्शनको मद्दतमा जनकपुर बोल्ट्सले नेपाल प्रिमियर लिग एनपिएलमा लगातार तेस्रो जित निकालेको छ । बिहीबार पहिलो खेलमा पोखरा एभेन्जर्सलाई ७ विकेटले पराजित गर्दै जनकपुरले तेस्रो जित हात पारेको हो ।
लाहिरु मिलान्थाको ४५ रन तथा नीशमको अविजित ४० रन मदतमा १३८ रनको लक्ष्य जनकपुरले १७.१ ओभर खेल्दै १४३ रन बनाएर पूरा गर्यो ।
मिलान्थाले ३२ बल खेलेर ८ चौका मद्तमा सर्वाधिक ४५ रन जोडे । यस्तै, नीशमले २० बल खेल्दै ५ छक्का मदतमा अविजित ४० रन बनाए । आसिफ शेखले ३४ बलमा ३३ रन जोडे । हर्श थाकरले १३ रन बनाए । कप्तान अनिल शाह १ रनमा आउट हुन पुगे ।
पोखराका लागि विपिन खत्री, कुशल भुर्तेल र माइकल लिस्कले समान १ विकेट लिए ।
त्यसअघि कीर्तिपुरस्थित टीयू मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको पोखराले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १३८ रन जोडेको थियो । पोखराका लागि म्याट क्रिटलेले ३० बल खेल्दै ३ चौका र १ छक्का मद्तमा सर्वाधिक ३५ रनको योगदान दिए ।
माइकल लिस्कले २५, आन्द्रेस गौसले २० तथा रेमोन रेइफरले १७ रन बनाए ।
बलिङमा जनकपुरका ललित राजवंशीले सर्वाधिक ३ विकेट झारे । उनले ४ ओभरमा ३१ रन खर्चिए । जिमी नीशमले ४ ओभरमा २९ रन खर्चेर २ विकेट लिए ।
किफायती बलिङ गरेका मोहमम्द मोहसिनले ४ ओभरमा १ मेडन राख्दै १७ रन खर्चेर १ विकेट लिए । किशोर महतोले पनि ४ ओभरमा ३२ रन खर्चिदै १ विकेट लिए ।