रविलाई चितवनबाट रातारात गाडीमा पोखरा पुर्याइयो
काठमाडौं २० मंसिर । चितवनमा बयान सकेर रास्वपाका सभापति रवि लामिछानेलाई रातारात गाडीमा पोखरा पुर्‍याइएको छ ।
काठमाडौंमा बयान सकिएलगत्तै साहारा चितवन सहकारीको रकम अनियमिततामा पनि संलग्नता देखिएको भन्दै पक्राउ पुर्जी जारी गरिएका लामिछानेलाई सिधै बयानका लागि मंगलबार बिहान चितवन पुगाइएको थियो ।
प्रहरी स्रोतका अनुसार, चितवनमा २ दिनसम्म बयान सकेर राति नै स्थलमार्ग हुँदै रविलाई बिहान साढे ३ बजे कास्की प्रहरी कार्यालयमा लगिएको हो ।
चितवनमा रविको बयान भइरहेकै बखत रास्वपाका आन्दोलनका क्रममा प्रहरी र नेता कार्यकर्ताबीच झडपसमेत भएको थियो । बिहीबार बिहान विमानमा पोखरा ल्याउनुभन्दा रातारात नै गाडीमार्फत पोखरा ल्याउनु उचित देखिइएको प्रहरीको दाबी छ ।
काठमाडौंमा स्वर्णलक्ष्मी सहकारीको रकम हिनामिनामा रविलाई पनि आरोपित गरेर जाहेरी परेपछि उनीविरुद्ध पक्राउ पुर्जी जारी गरिएको थियो । त्यसैले बयानका लागि रविलाई गत बिहीबार पोखराबाट काठमाडौं लागिएको थियो ।
गत कात्तिक २ गते रविलाई काठमाडौंबाट पक्राउ गरी पोखरा ल्याइएको थियो । रविलाई हिरासतमा राखेर अनुसन्धान गर्नका लागि पाँचौ पटक म्याद थप गरिएको छ ।
सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्धामा उनीमाथि अनुसन्धान प्रक्रिया अघि बढाइएको छ ।