महिलामाथिको हिंसा सह्य हुँदैन: गृहमन्त्री लेखक
काठमाडौं, २० मंसिर । गृहमन्त्री रमेश लेखकले महिला विरुद्ध हुने सबै प्रकारका हिंसा अन्त्य गर्न प्रतिबद्ध रहेको बताएका छन् ।
बिहीबार ३३औं अन्तर्राष्ट्रिय लैंगिक हिंसा विरुद्धको १६ दिने अभियानका क्रममा २६ नागरिक संस्थाले बुझाएको ध्यानाकर्षण पत्र गृहमन्त्रालयमा बुझ्दै गृहमन्त्री लेखकले महिलामाथि हुने जुनसुकै प्रकृतिका हिंसा सह्य नहुने स्पष्ट पारेका हुन् ।
वैदेशिक रोजगारीमा महिला सुरक्षाको विषयमा पनि आफू गम्भीर रहेको उल्लेख गर्दै उनले आप्रवासी महिला कामदारलाई शोषण र दुर्व्यवहारबाट जोगाउन सरकारका संयन्त्रहरू क्रियाशील रहेको बताए ।
‘पछिल्लो समय सामाजिक सञ्जाल, डिजिटल मिडियाबाट पनि महिलाहरू प्रताडित छन्, लोकतन्त्रमा आलोचना, विरोध र धारणा राख्न पाइन्छ तर सभ्य र सुसंस्कृत ढंगबाट गर्नुपर्छ ।’ गृहमन्त्री लेखकले भने ।
उनले डिभिटल मिडियामा आइरहेको घृणात्मक अभिव्यक्ति र हिंसा, दुर्व्यवहार नियन्त्रणका लागि पहल भइरहेको जानकारी दिए ।
त्यसैगरी, संविधानको भावना अनुरूप समानुपातिक प्रतिनिधित्वलाई सुनिश्चित गर्न बन्दै गरेको एकीकृत निर्वाचन विधयेक आगामी संघीय संसदमा पेस हुने गरी गृहमन्त्रालय अघि बढेको मन्त्री लेखकको भनाइ छ ।
गृहमन्त्रीलाई ध्यानाकर्षणपत्र बुझाउन कोपिला नेपाल, विश्वास नेपाल, जागृति महिला महासंघ लगायतका २६ वटा संस्थाका प्रतिनिधि गृहमन्त्रालय पुगेका थिए ।