धनुषामा महिलाको विभत्स हत्या

धनुषामा  महिलाको विभत्स हत्या

जनकपुरधाम, २१ मंसिर । धनुषामा एक महिलाको विभत्स हत्या गरिएको छ । धनुषाको विदेह नगरपालिका ५ मुरिबा टोलीकी ४० वर्षीया रामपरी देव ठाकुर वडहीको हत्या भएको प्रहरीले जनाएको छ ।

धनुषा प्रहरीका अनसार, शीरछेदन भएको उनको शव घरभन्दा करिब डेढ किलोमिटर टाढा शिवनारायण मण्डलको खेतमा फेला परेको थियो ।

उनको टाउको भने कमला नदीको नहरमा भेटिएको छ । शरीर नग्न अवस्थामा थियो । शरीर र टाउको भेटेको भन्दा सय मिटर पर रगत बगेको देखिएको छ ।

धारिलो हतियारले घाँटी छिनाएर उनको हत्या भएको छ । हत्या भएकी महिलाको श्रीमान लामो समयदेखि वैदेशिक रोजागारमा छन् ।

मृतकका कान्छो छोराले दिएको जानकारी अनुसार मंगबार अपराह्न रामपरी घाँस काट्न भन्दै घरबाट निस्किएकी थिइन् । अबेर साँझसम्म घर नफर्किएपछि खोजतलास थालिएको थियो ।  तर त्यसको भोलिपल्ट रामपरीको विभत्स हत्या भएको अवस्थामा शव फेला परेको हो ।

घटनामा संलग्न भएको आशंकामा प्रहरीले तीनजनालाई पक्राउ गरेको छ । धनुषाका प्रहरी उपरीक्षक भुवनेश्वर तिवारीले अहिले एक जनालाई मात्र हिरासतमा राखेर अनुसन्धान प्रक्रिया अघि बढाइएको जानकारी दिए ।