प्रमुख तीन दलका शीर्ष नेताबीच टीआरसी पदाधिकारीबारे छलफल
काठमाडौं, २१ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीले सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता छानबिन आयोगको विषयमा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रसँग शीर्ष नेतृत्वसँग छलफल गरेका छन् ।
प्रधानमन्त्री ओलीले विहीबार बेलुकी कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग संयुक्त छलफल गरेका हुन् ।
स्रोतका अनुसार, छलफल सत्य निरुपण तथा मेलमिलाप आयोग र वेपत्ता छानबिन आयोगको पदाधिकारी चयनका विषयमा केन्द्रित रहेको थियो । तर, छलफलमा ठोस सहमति भने जुट्न सकेको छैन ।
दुवै आयोगको पदाधिकारी छनोट तथा सिफारिस समितिमा संस्थागत र व्यक्तिगत गरी १५६ जनाले आवेदन दिएका छन् ।
तीमध्येबाट आज संक्षिप्त सूची सार्वजनिक गर्ने तयारी रहेको छ । त्यसका लागि समितिको बैठक आज दिउँसो दुई बजे बस्नेगरी तयारी गरिएको छ ।