फास्ट ट्र्याकमा टिपर दुर्घटना हुँदा चालकको मृत्यु
हेटौंडा, २१ मंसिर । मकवानपुरको बकैया गाउँपालिका–५ झाँक्रीडाँडास्थित निर्माणाधीन काठमाडौं–तराई द्रुतमार्ग (फास्ट ट्र्याक) मा टिपर दुर्घटना हुँदा चालकको ज्यान गएको छ ।
नदीजन्य पदार्थ (ग्राभेल) लोड गरेर फास्ट ट्र्याकतर्फ जाँदै गरेको ना ८ ख २४३० नम्बरको टिपर दुर्घटना हुँदा चालक चितवन घर भएका अन्दाजी ४० वर्षीय सानु लो तामाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
प्रहरी नायव उपरीक्षक श्यामु अर्यालले आज बिहान सवा ८ बजेको समयमा टिपर सडकबाट करिब ३० मिटर तल खोल्सामा खसेको जानकारी दिए ।