बुढानीलकण्ठमा बस्ने गरी कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समितिको बैठक
काठमाडौं, २१ मंसिर । सत्तारुढ प्रमुख घटक नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक डाँकेको छ ।
बैठक मंसिर २४ गते सोमबार बिहान ९ बजे पार्टी सभापति शेरबहादुर देउवाको निजी निवास बूढानीलकण्ठमा बोलाइएको पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
उनका अनुसार, गण्डकीमा मृत्यु भएको सांसदका ठाउँमा अर्को समानुपातिक व्यक्तिबारे, उपनिर्वाचन समीक्षा, समसामयिक विषय लगायत छलफलका एजेण्डा रहेका छन् ।
कांग्रेसको विधान अनुसार कार्यसम्पादन समितिको बैठक प्रत्येक महिना बस्नुपर्ने व्यवस्था छ । तर, विधान अनुसार कार्यसम्पादन समितिको नियमित बैठक भने बस्न सकेको छैन । ४६ सदस्यीय कार्यसम्पादन समितिमा ३६ जनालाई सभापतिले मनोनीत गरेका छन् ।
बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरूलाई बोलाइएको छ ।