झापामा वृद्धाको हत्या, दुई जना पक्राउ
काठमाडौं, २३ मंसिर । झापामा ८३ वर्षीया वृद्धाको हत्या भएको छ । प्रहरीले हत्यामा संलग्नताको आरोपमा दुई जनालाई पक्राउ गरेको छ ।
झापाको झापा गाउँपालिका–७ का २८ वर्षीय अजय यादव र झापाकै शिवसताक्षी नगरपालिका–७ का २४ वर्षीय अशोक यादव पक्राउ परेका छन् । उनीहरुलाई जिल्ला प्रहरी कार्यालय झापाको टोलीले पक्राउ गरेको हो ।
२२ मंसिरको साढे ४ बजेतिर झापा गाउँपालिका-६ पुष्पाञ्जली टोल बस्ने ८३ वर्षीया वृद्धा फुलमाया मुर्मु मृत अवस्थामा फेला परेका थिए ।
त्यसपछि अनुसन्धानमा झापा प्रहरीका साथै प्रदेश प्रहरी कार्यालय केनाइन शाखा धरानबाट कुकुरसहितको टोली अनुसन्धानमा खटिएको थियो । वृद्धालाई टाउको र चिउडोमा प्रहार गरी हत्या गरेको खुलेको थियो ।
हत्यामा प्रयोग भएको कलको ह्याण्डिल र फरुवा समेत प्रहरीले आफ्नो नियन्त्रणमा लिएको छ । हत्यापछि लुटिएको मोबाइल र एउटा साइकल समेत बरामद गरिएको प्रहरीले जनाएको छ ।