नेपाल आइपुगे अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु

नेपाल आइपुगे अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु

काठमाडौं, २३ मंसिर । अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु आज नेपाल आइपुगेका छन् । दक्षिण एवम् मध्य एसिया मामिला हेर्ने सहायक विदेशमन्त्री लु भारत, श्रीलंका र नेपाल भ्रमण गर्ने क्रममा आज काठमाडौं आएका हुन् ।

नेपालका क्रममा उनले नेपाल सरकारका नेतृत्वकर्ताहरूसँग शिष्टाचार भेट र नागरिक समाजसँग छलफल गर्ने नेपालस्थित अमेरिकी राजदूतवासले जनाएको छ । यस भ्रमणबाट अमेरिका–नेपाल सम्बन्धलाई मजबुत बनाउने र वातावरणीय सुरक्षा, महिला सशक्तिकरण, सांस्कृतिक संरक्षण र दिगो विकासजस्ता मुख्य क्षेत्रहरूमा दुई देशबीचको सहकार्यलाई अघि बढाउने दूतावासको भनाइ छ ।

लु अमेरिकी विदेश मन्त्रालयका प्रभावशाली सहायकमन्त्री मध्येका हुन् । यसअघि पनि तीनपटक उनले नेपालको भ्रमण गरिसकेका छन् । उनी पछिल्लोपटक गत वर्ष असार २९ गते पनि नेपाल आएका थिए ।

त्यसअघि उनी नेपालमा अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) पारितको चरणमा रहेको अवस्थामा अमेरिकाबाट तारन्तार भएका भ्रमणको क्रममा नेपाल आइपुगेका थिए ।

त्यसपछि अमेरिकाले प्रस्ताव गरेको स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) मा सहभागी हुने विषयमा कुराकानी गर्न पनि नेपाल आएका  थिए । तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले एसपीपी प्रस्तावलाई अस्वीकार गर्ने निर्णय मन्त्रिपरिषद्बाटै पारित गरेपछि उनी त्यसको केही समयपछि नै नेपाल आएका थिए ।

एमसीसी पारित हुने विषयमा नेपालमा चर्को बहस चलिरहेका बेलामा सोही वर्षको २७ माघमा एकै दिन लुले तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग टेलिफोन वार्तासमेत गरेका थिए ।

संवाद भएको झण्डै दुई हप्तापछि १५ फागुन २०७८ मा नेपालको संसदले व्याख्यात्मक घोषणासहित एमसीसी अनुमोदन गरेको थियो ।