म्याग्लुङ–पिप्ले–अम्फुवा–सोल्मा–शुक्रबारे सडक कालोपत्र हुँदै
![म्याग्लुङ–पिप्ले–अम्फुवा–सोल्मा–शुक्रबारे सडक कालोपत्र हुँदै](https://snowberry.prixacdn.net/media/gallery_folder/sadak%2520(2)_RAnfaoJomn_nsgnifrqjruloygcz40ra6qx7d1ynjfnpom1nygd62syycsnfop9qqilqs5s_WpGHzDAX2T_qoygklevsbdzhxg82jdnmnpafa783wgkzpq3jg2ebilhem7vrdkhvqli0acu.jpg)
तेह्रथुम, २४ मङ्सिर । म्याङलुङ अम्फुवा मङ्गलबारे सडक कालोपत्र हुने भएको छ । आइतबार प्रतिनिधिसभा सदस्य तथा पूर्वसहरी विकासमन्त्री सीता गुरुङले एक समारोहबीच कालोपत्रको शिलान्यास गरेकी छिन् ।
सो अवसरमा उनले सडक कालोपत्र भएपछि स्थानीय उत्पादन बजार पुर्याउन सहज भई स्थानीयको जीवनस्तर उक्सिने विश्वास व्यक्त गरिन् ।
सङ्घीय सरकारको सहरी विकास मन्त्रालयको रु १० करोड २४ लाख ५० हजार बजेटमा मारुती बिल्डर्सले निर्माणको ठेक्का पाएको हो ।
विसं २०८२ पुस २४ गतेसम्ममा काम सक्ने गरी ठेक्का सम्झौता भएको आयोजना कार्यान्वयन गर्ने सघन सहरी तथा भवन निर्माण आयोजनाको कार्यालय धनकुटाका आयोजना प्रमुख सुमन मिश्रले जानकारी दिए ।
उक्त सडकअन्तर्गत सदरमुकाम म्याग्लुङतर्फको दुई हजार नौ सय मिटरमध्ये एक हजार आठ सय मिटर कालोपत्र हुनेछ भने एक हजार एक सय मिटर सडकको चौडा गरिनेछ ।
त्यस्तै, लालिगुराँस नगरपालिकातर्फ एक हजार दुई सय मिटर कालोपत्र हुने प्रमुख मिश्रले बताए ।
उक्त सडक कालोपत्र भएपछि स्थानीय उत्पादन लालिगुराँस नगरपालिका–८ मङ्गलबारेबाट सदरमुकाम म्याग्लुङको हटियासम्म ल्याउन सहज हुने मङ्गलबारेका स्थानीयवासी ज्ञानु तिम्सिनाले बताए ।
हिउँदमा जसोतसो सडक चले पनि वर्षातको समयमा यहाँका किसानले काँधमै बोकेर कृषि उपज हटिया ल्याउनुपर्ने बाध्यता यो सडक कालोपत्र भएसँगै अन्त्य हुने विश्वास लिइएको छ ।