उद्योगमन्त्रीको रोहबरमा उद्योगी र निर्माण व्यवसायीबीच सिमेन्टको मूल्यमा जुट्यो सहमति
काठमाडौं, २६ मंसिर । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीको रोहबरमा सिमेन्टको मूल्यमा उद्योगी र निर्माण व्यवसायीबीच सहमति कायम भएको छ । सिमेन्ट उद्योगीले मिलेमतोमा सिमेन्टको मूल्य वृद्धि गरेपछि निर्माण व्यवसायीले उनीहरूबाट सिमेन्ट नकिन्ने बताएका थिए ।
त्यससँगै सिमेन्टको मूल्यका सन्दर्भमा मन्त्रालय तथा वाणिज्य विभागसमेतले चासो देखाएको थियो । सरकार, सिमेन्ट उद्योगी र निर्माण व्यवसायीबीच आज (बुधबार) भएको छलफलमा सिमेन्टको भाउको विषयमा सहमति जुटेको नेपाल सिमेन्ट उत्पादक संघका पूर्वअध्यक्ष ध्रुव थापाले जानकारी दिए ।
नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले पनि सिमेन्टको मूल्यकाबारेमा सहमति भएको बताए ।
‘सिमेन्ट उद्योगीहरू काठमाडौंमा ओपीसी सिमेन्ट प्रतिबोरो सात सय रुपैयाँमा र पीपीसी सिमेन्ट प्रतिबोरा ६ सय रुपैयाँमा दिन तयार हुनुभयो, यस हिसाबले फ्याक्ट्री रेट ओपीसी र पीपीसीको क्रमशः ५ सय ६० हाराहारी र ४ सय ६० हाराहारी हुन आउँछ । त्यसमा हामीबीच सहमति कायम भएको हो ।’उनले भने ।
पूर्वअध्यक्ष थापाका अनुसार, काठमाडौंमा ओपीसी प्रतिबोरा ७ सय र पीपीसी सिमेन्ट प्रतिबोरा ६ सयमा दिन उद्योगीहरू तयार समेत भएका छन् ।
‘निर्माण व्यवसायीहरूले सिमेन्टको मूल्य २ सय रुपैयाँले बढेको दाबी गर्नुभयो । हामीले त्यति धेरै बढेको होइन, हामी काठमाडौंमा त्यो मूल्यमा दिन तयार छौं, त्यसो गर्दा काठमाडौंको नजिकमा रहेको उद्योगको फ्याक्ट्री रेट बढी पर्न जाला, तराईका उद्योगको बढी पर्न जाला,’ उनले भने ।
मन्त्री भण्डारीले गराएको उक्त बैठकमा वाणिज्य सचिव गोविन्द कार्की र बाणिज्य विभागका महानिर्देशक राजन पौडेल पनि उपस्थित थिए ।