सगरमाथा क्षेत्रमा हेलिकप्टरको व्यावसायिक उडान निषेध

सगरमाथा क्षेत्रमा हेलिकप्टरको व्यावसायिक उडान निषेध

काठमाडौं,२६ मंसिर । सगरमाथा निकुञ्ज क्षेत्रमा अंग्रेजी नयाँ वर्ष (१ जनवरी २०२५) १७ पुस २०८१ देखि लागु हुने गरी व्यावसायिक हेलिकप्टर उडानमा रोक लगाइएको छ ।

बुधबार सगरमाथा राष्ट्रिय निकुञ्जले सबै हेलिकप्टर कम्पनीलाई पत्र लेख्दै उक्त निर्णयबारे जानकारी दिएको हो। निकुञ्ज, खुम्बु पासाङ ल्हामु गाउँपालिका, मध्यवर्ती क्षेत्र व्यवस्थापन समिति तथा स्थानीय सरोकारवालासहितको बैठकले सो निर्णय लिएको हो । 

अब पर्यटक तथा स्थानीयको उद्धार तथा मालसामान ढुवानी बाहेक व्यावसायिक रूपमा हेलिकप्टर उडाउन गर्न पाउने छैनन् ।

निकुञ्ज कार्यालयका अनुसार, सगरमाथा राष्ट्रिय निकुञ्जभित्र उडान तथा अवतरण गर्ने विभिन्न कम्पनीका हेलिकप्टरले उडान–अवतरण गर्नुअघि निकुञ्ज कार्यालयबाट अनुमति लिएर मात्र उडान गर्नुपर्छ । तर, यस्तो काम प्रभावकारी नभएको र राजस्व चुहावट समेत भएको भन्दै अब व्यावसायिक उडानमा रोक लगाउने निर्णय गरेको हो । 

हेलिकप्टर कम्पनीले मनपरी ढंगले उडान–अवतरण गर्दा निकुञ्जको वन तथा वातावरण र वन्यजन्तुको सुरक्षामा समेत चुनौती थपिएको समेत कार्यालयले जनाएको छ । यसले मानव बस्तीमा ध्वनि प्रदूषण बढाएको समेत  हेलिकप्टर सेवा प्रदायक कम्पनीलाई पठाएको पत्रमा भनिएको छ ।

अब निकुञ्जको कोर तथा मध्यवर्ती क्षेत्रमा व्यावसायिक प्रयोजनमा हेलिकप्टर उडान–अवतरणमा पूर्णरोक लागेको निकुञ्जले जनाएको छ । 

निकुञ्ज भ्रमण गर्न आउने पर्यटक, स्थानीय र पदमार्गीको स्वास्थ्य ध्यानमा राख्दै सर्तसहित उद्धार उडान भने गर्न पाइने छ । जसमा नजिकैको स्वास्थ्य संस्था, मध्यवर्ती उपभोक्ता समिति र वडा कार्यालयलाई मौखिकरलिखित सिफारिसपछि मात्र निकुञ्जले अनुमति दिने छ ।

उद्धार उडान गर्नुपर्ने अवस्था आए निकुञ्जबाट पूर्वसहमति लिएर हेलिकप्टर अवतरण गर्ने स्थान तय गर्नुपर्ने छ । उद्धार हुने व्यक्तिको विवरण निकुञ्ज कार्यालयमा पेस गर्नुपर्ने बताइएको छ । 

हेलिकप्टरमा उद्धार (रेस्क्यु) गर्नुपर्ने पर्यटक बाहेक अरूलाई ओसारपसार गर्न पनि रोक लगाइएको छ । खुम्बु क्षेत्रको भौगोलिक अवस्था मध्यनजर गरी स्थानीय स्तरमा आवश्यक सामग्री ढुवानीका लागि भने पूर्वसहमतिमा कार्गो उडान गर्न सकिने छ ।

सगरमाथा आरोहणका लागि कार्गो ढुवानी गर्न पाङबोचे भन्दा माथिल्लो क्षेत्रमा अवतरण गर्न भने निषेध गरिएको छ ।