रवि र छविसहित चार जनालाई आज अदालत उपस्थित गराइँदै

रवि र छविसहित चार जनालाई आज अदालत उपस्थित गराइँदै

काठमाडौं, २७ मंसिर । पूर्वगृहमन्त्री समेत रहेका रास्वपाका सभापति रवि लामिछानेसहित ४ जनालाई कास्की जिल्ला अदालत उपस्थित गराइँदै छ । सहकारीको रकम अपचलन प्रकरणमा गत कात्तिक २ गते काठमाडौंबाट पक्राउ परेका रविलाई पछिल्लो पटक थपिएको म्याद आज सकिने भएकाले फेरि अदालतमा उपस्थि गराउन लागिएको हो । 

प्रहरी स्रोतका अनुसार, अझै केही दिन हिरासतमै राखेर अनुसन्धान गर्ने गरी म्याद थपको माग गर्ने र अर्को पटकमा अदालतमा अनुसन्धान प्रतिवेदनसहित मुद्दा पेस गर्ने तयारी छ ।

गोर्खा मिडियाका पूर्वप्रबन्ध निर्देशक लामिछानेसहित पूर्वडीआईजी तथा गोर्खा मिडियाका पूर्वउपाध्यक्ष छविलाल जोशी, जीवी राईका साझेदार नेचर हब्र्सका रामबहादुर खनाल र जीवीसँग जोडिएकी लिला पछाइलाई अदालतमा उपस्थित गराउन लागिएको हो ।

सहकारी छानबिनका लागि बनाइएको विशेष संसदीय समितिको सिफारिसका आधारमा सूर्यदर्शन सहकारी बचत रकम अनियमितता प्रकरणमा पक्राउ परेका रविसहितलाई सहकारी ठगीसँगै संगठित अपराध र सम्पत्ति शुद्धीकरणको कसुरमा अनुसन्धान चलिरहेको छ । रवि संलग्न रहेका बताइएको सहकारी रहेको भन्दै पक्राउ पुर्जी जारी भएका जिल्लामा रविको बयान लिइएको छ । बुधबारमात्र रविलाई पर्सा हुँदै काठमाडौं ल्याइएको थियो ।

संसदीय समितिको प्रतिवेदनले पोखराको सूर्यदर्शन, बुटवलको सुप्रिम बचत तथा ऋण सहकारी संस्था, काठमाडौंको स्वर्णलक्ष्मी सहकारी संस्था, साहारा चितवन बहुउद्देश्यीय सहकारी संस्था, वीरगञ्जको सानो पाइला बचत तथा ऋण सहकारी संस्था र नेपालगञ्जको समानता सहकारीको रकम गोर्खा मिडियामा लगेर अपचलन गर्न रविको पनि संलग्नता देखाएको भन्दै प्रहरीले ती सबै ठाउँमा लगेर रविको बयान गराएको छ ।

५ करोड ५८ लाख ९ हजार रुपैयाँ सूर्यदर्शन सहकारीबाट गोर्खा मिडियामा गएको देखिन्छ । जीबी राई नेतृत्वको देशभरका सहकारीबाट ६५ करोड प्रत्यक्ष रुपमा गोर्खा मिडिया नेटवर्कमा गएको समितिको प्रतिवेदनले उल्लेख छ ।

समितिले गोर्खा मिडियामार्फत ठगी भएको भन्दै जीवी, रवि, छविलाल र कुमार रम्तेललाई कारबाही गर्न सिफारिस गरेको थियो । त्यसमध्ये जीवी फरारै छन् भने रवि र छविमाथि अनुसन्धान जारी छ । झण्डै डेढ अर्ब हिनामिना भएको सूर्यदर्शन सहकारीका कोषाध्यक्षसमेत रहेका कुमार रम्तेल भने पुर्पक्षका लागि कास्की कारागारमा हिरासतमै छन् ।