प्रचण्ड व्यस्त भएपछि माओवादी स्थायी समिति बैठक स्थगित

काठमाडौं, २७ मंसिर । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक स्थगित भएको छ ।
आज दिउँसो ३ बजेका लागि बोलाइएको बैठक बैठक स्थगित भएको पार्टी उपमहासचिव गिरिराजमणी पोखरेलले जानकारी दिए ।
उनका अनुसार, अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड उपत्यका बाहिर भएका कारणले बैठक स्थगित भएको हो । ‘आजको स्थायी समिति बैठक स्थगित भएको छ, भोलि बिहान ११ बजे बैठक बस्छ ।’ ’ उनले भने ।
बैठकबाट सरकारले संविधान संशोधनको प्रयास अगाडि बढाउन खोजेकाले त्यसबारे पार्टीको धारणा तय हुने नेताहरूले बताएका छन् ।
पुस ४ गते माओवादी केन्द्रको केन्द्रीय समितिको बैठक बस्दैछ । नेताहरुका अनुसार, केन्द्रीय समितिको बैठकको तयारी र एजेण्डाहरूका विषयमा पनि स्थायी समिति बैठकमा छलफल हुने छ ।
नेताहरूले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख, पूर्णसमानुपातिक निर्वाचन प्रणाली र संसद बाहिरबाट मन्त्री बनाउने व्यवस्थाका लागि संघर्ष गर्नुपर्ने यसअघि बसेको पदाधिकारी बैठकमा धारणा राखेका छन् ।
यो विषयमा प्रतिपक्षमा रहेका दलहरूसँग समेत छलफल गरेर साझा धारणा बनाएर जाने र पार्टीको संरचना यो मुद्दा लिएर जनतामा जाने तयारी रहेको नेताहरूको भनाइ छ ।