म्याद थपका लागि रवि लामिछानेलाई अदालत उपस्थित गराइयो
काठमाडौं, २ पुस । सहकारीको बचत अनियमितता प्रकरणमा अनुसन्धान प्रतिवेदन बुझाइसकेको कास्की प्रहरीले रास्वपा सभापति रवि लामिछानेसहितका व्यक्तिहरुलाई आज जिल्ला अदालतमा उपस्थित गराएको छ ।
प्रहरीले गोर्खा मिडियाकै पूर्व प्रबन्ध निर्देशकसमेत रहेका लामिछानेसहित गोर्खा मिडियाका पूर्वउपाध्यक्ष छविलाल जोशी, नेचर हर्ब्सका सञ्चालक रामबहादुर खनाल, जीबी राईका सहयोगी लिला पछाईंलाई अदालतमा उपस्थित गराएको हो ।
पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमाथि ८४ दिनपछि अनुसन्धान सकेर हिजो (सोमबार)मात्रै प्रहरीले सरकारी वकिलको कार्यालयलाई प्रतिवेदन बुझाएको थियो ।
सो प्रतिवेदनमा लामिछानेसहित ५१ जनालाई प्रतिवादी बनाइएको छ । त्यसमध्ये ३७ जना फरार प्रतिवादी छन् । उनीहरुविरुद्ध १ अर्ब ५१ करोड बिगो मागदाबी गर्नुपर्ने राय समेत प्रहरीको छ ।
स्रोतका अनुसार, अनुसन्धान प्रतिवेदन प्रहरीले जिल्ला सरकारी वकिल कार्यालयमा बुझाइसके पनि अझै केही दिन म्याद थप्ने तयारी छ ।
प्रहरीको प्रतिवेदन अध्ययन गरेर अभियोजन तयार गरिरहेकाले अझै केही दिन म्याद थप्न अनुमति मागिने स्रोतको दाबी छ । त्यसैका लागि आज बिहान लामिछाने सहितलाई अदालत उपस्थित गराइएको हो ।
यसअघि उनीसहित आरोपितहरुलाई काठमाडौंसहित विभिन्न जिल्लामा लगेरसमेत बयान गराइएको थियो ।