जहाजमा हङकङबाट काठमाडौं आएका अचेत व्यक्ति मृत घोषित

जहाजमा हङकङबाट काठमाडौं आएका अचेत व्यक्ति मृत घोषित

काठमाडौं, ७ पुस । हङकङबाट  नेपाल वायुसेवा निगमको विमानमार्फत नेपाल आएका एक यात्रुलाई अस्पताल पुर्‍याएसँगै मृत घोषणा गरिएको छ ।

निगमका प्रवक्ता रमेश पौडेलका अनुसार, निगमको आरए ४१० उडानमार्फत् हङकङबाट काठमाडौं आउने क्रममा जहाजभित्रै अचेत ताप्लेजुङका ५३ वर्षीय देउमान लिम्बुलाई एयरलाइन्सका कर्मचारीले आफन्तको जिम्मा लगाएका थिए ।

‘उहाँ जहाजभित्र अचेत अवस्थामा भेटिएको र आफन्तहरू रिसिभ गर्न विमानस्थलमै आएको पाइएको छ, त्यसपछि नजिकको अस्पताल केएमसी पुर्‍याइएको र अस्पतालले मृत घोषणा गरेको  पाइएको छ ।’ पौडेलले भने ।

विमानमा अचेत अवस्थामा रहेका यात्रुको अवस्था के थियो भन्न नसकिने भएकाले विमानस्थलको आकस्मिक सेवा हेर्ने केएमसी अस्पतालमा पठाइएको समेत उनले बताए ।