रवि लामिछानेमाथि २७ करोड ८९ लाख सम्पत्ति शुद्धीकरणको अभियोग, निकितालाई पनि मुद्दा
काठमाडौं, ७ पुस । रास्वपा सभापति रवि लामिछानेमाथि २७ करोड ८९ लाख रुपैयाँ गैरकानुनी रुपमा आर्जन गरेको आरोप जिल्ला सरकारी वकिलको कार्यालय, कास्कीले लगाएको छ ।
रविविरुद्ध २७ करोड ८९ लाख रुपैयाँ बिगो मागदाबी भएको जिल्ला सरकारी वकिलको कार्यालय, कास्कीकी सहायक जिल्ला न्यायाधीवक्ता शान्तिदेवी शर्माले बताइन् ।
साथै गृहमन्त्री समेत रहेका लामिछाने पत्नी निकिता पौडेललाई पनि मुद्दा लगेको छ । निकितासहित पाँच जनालाई केही सम्पत्ति जफत गर्ने प्रयोजनका लागि प्रतिवादी बनाएको हो ।
कसुरमा संलग्न नभएको असम्बन्धित व्यक्तिको खातामा कसुरबाट आर्जन भएको सम्पत्ति रहेको पाइएमा ‘जफत गर्ने प्रयोजन’का लागि प्रतिवादी बनाउने चलन हुन्छ ।
पाँच जनामाथि जफत प्रयोजनका लागि मुद्दा चलाइएको जिल्ला सरकारी वकिलको कार्यालय, कास्कीकी सहायक जिल्ला न्यायाधीवक्ता शान्तिदेवी शर्माले बताइन् ।
त्यसरी प्रतिवादी बनाइएकाहरुमा पद्मा बन्जाडे, रोचक जोशी, राधा पछाईं र गीता पछाईंको सम्पत्ति जफत गर्नुपर्ने मागदाबीसहित प्रतिवादी बनाइएको हो ।
आइतबार ३१ जनालाई प्रतिवादी बनाइएकोमा ८ वटा कम्पनीहरु हुन् भने ५ जनाविरुद्ध जफत प्रयोजनका लागि मात्रै मुद्दा चलेको सहायक न्यायाधीवक्ता शर्माले जानकारी दिइन् । यो प्रकरणमा कुल ६३ जना विरुद्ध मुद्दा दायर गरिएको छ ।
सम्पत्ति शुद्धीकरणमा रवि पत्नी निकिता पौडेल, छविलाल जोशीकी श्रीमती पद्मा, छोरा रोचक जोशी, लिला पछाईंको आमा राधा पछाइँ, दिदी गीता पछाईंको पनि सम्पत्ति जफत गर्न समेत माग गरिएको छ ।