रास्वपाले बोलायो सचिवालय बैठक
काठमाडौं, ८ पुस । संसदको चौथो ठूलो दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सचिवालय बैठक बोलाएको छ ।
एक पदाधिकारीका अनुसार, आज (सोमबार) दिउँसो ४ बजे बस्नेगरी बैठक तय भएको छ ।
आजको बैठकमा पछिल्लो समसामयिक राजनीति र पार्टी सभापतिको कार्यबाहक जिम्मेवारी तोक्नेबारे छलफल हुने उनले बताए । बैठक भर्चुअल माध्यमबाट बस्ने बताइएको छ ।
ती नेतका अनुसार, कार्यबाहक सभापतिमा डोलप्रसाद अर्यालकै सम्भावना छ । तर, पार्टीले निर्णय नलिइ त्यसबारे केही भन्न नसकिने उनी बताउँछन् ।
आइतबार जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा रहेका सभापति रवि लामिछानेमाथि मुद्दा दायर भएको छ ।
पोखराको सूर्यदर्शन सहकारी ठगीको अनुसन्धानमा रहेका रविसहित ६३ जनामाथि सरकारी वकिलको कार्यालयले आइतबार मुद्दा दर्ता गराएको हो ।
मुद्दा दायर भएसँगै रवि प्रतिनिधि सदस्य पदबाट स्वतःनिलम्बनमा पर्ने भएका छन् ।