‘शार्क ट्यांक नेपाल’ घोषणा: उद्यमशीलताको नयाँ आइडिया प्रवर्द्धन
काठमाडौं, ८ पुस । संसरभर व्यवसायी उद्यमीहरुमाँझ प्रसिद्धि कमाएको टेलिभिजन कार्यक्रम ‘शार्क ट्यांक’को नेपाली संस्करण हिमालय टिभीमा प्रसारणमा हुने भएको छ ।
आज (सोमबार) एभरेस्ट होटलमा आयोजित एक विशेष समारोहमा बिजनेस रियालिटी शो ‘शार्क ट्यांक नेपाल’को औपचारिक घोषणा गरियो ।
नेपालका लागि उत्पादन तथा प्रसारण अधिकार प्राप्त गरेको हिमालय टिभीले केही महिनाभित्र कार्यक्रम आउने भएको छ ।
समारोहमा पहिलो सिजनका पाँच जना शार्कहरू (जज) सार्वजनिक गरियो । जसले लगानीको लागि प्रस्ताव लिएर आएका स्टार्टअपमा लगानी गरी उनीहरूको व्यवसाय विस्तारमा सघाउने पुर्याउनेछ ।
आइएमई समूहका सहसंस्थापक हेमराज ढकाल, अग्नि ग्रुपका संस्थापक क्याबिनेट श्रेष्ठ, वैद्य अर्गनाइजेसनकी निर्देशक ऋतुसिंह वैद्य, निम्बस ग्रुपका प्रबन्ध निर्देशक आनन्द बगारिया र पद्मज्योति ग्रुपका निर्देशक सौरभ ज्योतिका सार्क (जज)का लागि अनुबन्धित भएका छन् । दुई जना अतिथि शार्क पछि थप्ने तयारी रहेको छ ।
सन् २००१ मा जापानको निप्पोन टिभीमा ‘मनी टाइगर्स’को रुपमा सुरुवात गरिएको यो शो हाल आएर विश्वकै ठूलो व्यावसायिक रियालिटी टिभी शो बन्न सफल भएको छ । सोनी पिक्चर्स टेलिभिजनले विश्व व्यापी रुपमा वितरण गर्दै आइरहेको यो शोको नेपाल संस्करण ५४ औं फ्रेन्चाइज हो ।
समारोहमा सोनी टेलिभिजन लण्डनका कार्यकारी प्रमुख र भारतीय ‘शार्क ट्यांक’का सदस्यहरूले शार्क ट्याङ्क नेपालमा शुभारम्भ गरिएको अवसरमा हिमालय टिभीलाई भिडियोमार्फत बधाई तथा शुभकामना सन्देश पठाएका थिए ।
उक्त समारोहमा हिमालय टिभीका कार्यकारी निर्देशक श्याम कँडेलले तीन वर्षअघि नै सोनीसँग सम्झौता भएपनि कोभिड र आर्थिक मन्दीका कारण शो आउन ढिलो भएको बताएका छन् । उनले नेपालमा व्यवसायको भविष्य सम्भव रहेको, उद्यमशीलताको विकास र सेलिब्रेसन गर्न सकिने सन्देशसहित शो आउन लागेको बताए ।
सोनी पिक्चर्स टिभीकी दक्षिण एसिया क्षेत्रीय अन्तर्राष्ट्रिय वितरण उपाध्यक्ष सोनिका भासिनले भारत, बंगलादेश र पाकिस्तानमा अभूतपूर्व सफलतापछि नेपालमा यो शो ल्याउन पाउँदा उत्साहित रहेको प्रतिक्रिया दिइन् । ‘शार्क ट्यांकले अनगिन्ती उद्यमीलाई सशक्त बनाएको छ र लाखौंलाई उनीहरूको नवप्रवर्तन र दृढ संकल्पनका कथाद्वारा प्रेरित गरेको छ,’ उनले भनिन् ।
‘हामी नेपालमा यो परम्परा फैलाउने र नेपाली नवप्रवर्तनलाई अन्तर्राष्ट्रिय मञ्चमा प्रस्तुत गर्ने अवसरको प्रतीक्षामा रहेको भन्दै भासिनले यसले दक्षिण एसियाको शार्क ट्यांकलाई अझै बलियो बनाउने विश्वास लिएको बताइन् । ‘हामी नेपालबाट उदाउने नवीन उद्यमहरूको प्रतीक्षा गरिरहेका छौं,’ भासिनले भनिन् ।
जज (शार्क) मध्येका एक ढकालले शोले युवालाई उद्यमशीलतातर्फ प्रोत्साहन गर्ने दाबी गरे शार्कमध्येका अर्का अग्नि समूहका संस्थापक क्याबिनेट श्रेष्ठले यो शो बिजनेस रियालिटी शो मात्र नभएर यसले व्यवसायलाई नवीन उचाईमा पुयाउने बताए ।
उक्त समारोहमा नवप्रवर्तन, उद्यमशीलता र लगानीलाई प्रवर्धन गर्ने उद्देश्य राखिएको शोले आवेदन आह्वान समेत गरेको छ । व्यवसायीले आफ्नो व्यवसायसँग सम्बन्धित डेटा प्रस्तुत गर्दै एक निश्चित प्रतिशत व्यवसायको सेयर वा ऋणको बदलामा लगानी प्राप्त गर्न आवेदन गर्न सक्नेछन् ।
व्यवसाय सञ्चालनमा आएका र विस्तारका लागि लगानी खोजिरहेका नेपाली उद्यमीले हिमालय टिभीको एप र वेबसाइटमा गई आवेदन दिन सक्नेछन् । आवेदन जनवरी १५ तारिखसम्म दिइसक्नुपर्ने बताइएको छ ।
समारोहमा हिमालय टिभीका अध्यक्ष धर्मराज भुसाल र शार्कको रुपमा अनुबन्धित जजहरूले सहभागीसँग प्रश्नोत्तर समेत गरेका थिए । शोलाई ‘हिमालय रोडिज’ फेम्ड सिमोस सुनुवारले निर्देशन गर्ने छन् । एउटा एपिसोडमा पाँच जना उद्यमी गरेर कुल २० एपिसोडमा १०० जना उद्यमीले आफ्नो व्यवसाय र उद्यमशीलताको आइडिया पिच गर्ने बताइएको छ ।
शोका जजमार्फत ३५ देखि ४० करोड रुपैयाँ लगानी उद्यमीलाई जुटाइदिने छ । हिमालय टिभीमा आगामी तीन महिनाभित्र प्रसारणको अपेक्षा गरिएको कार्यक्रमको छायांकन फागुनदेखि गर्ने तयारी रहेको छ । नयाँ बानेश्वरस्थित एभरेस्ट होटलमा कार्यक्रमको छायांकन गरिनेछ ।
विभिन्न अन्तर्राष्ट्रिय रियालिटी टिभी शोहरूको उत्पादन तथा प्रसारण हिमालय टिभीले नेपालमा गर्दै आएको छ । द भ्वाइस अफ नेपाल, भ्वाइस किड्स, हिमालय रोडिज प्रसारण हुँदैआएका छन् भने अन्य अन्तर्राष्ट्रिय फेसन रियालिटी शो नेपाल नेक्स्ट टप मोडल पनि प्रसारण गर्ने तयारी छ ।