युवाहरूले नेपालमा सुरक्षित भविष्य देख्न छाडे, कन्भिन्स गरौँ: डा.मिनेन्द्र रिजाल
काठमाडौं, ८ पुस । नेपाली कांग्रेसका नेता डा.मिनेन्द्र रिजालले बितेको ३० वर्षमा नेपालले उल्लेख्य प्रगति गरेको भएपनि युवा पलायन नरोकिएको दाबी गरेका छन् ।
सोमबार नेपाल पत्रकार महासंघ प्रतिष्ठान प्रदेश समितिले काठमाडौंमा आयोजित कार्यक्रममा उनले विगत ३० वर्षमा आर्थिक, सामाजिक, स्वस्थ्य र शिक्षाका क्षेत्रमा सुधार भएपनि युवाहरू कन्भिन्स हुन नसकेको जिकिर गरे ।
‘हामीले ३० वर्षमा असाध्यै ठूलो उपलब्धी गर्यौं । यसमा जहाँसुकै मज्जाले कुरा गर्न सकिन्छ । आर्थिक, सामाजिक, स्वस्थ्य र शिक्षाका क्षेत्रमा सुधार भएको छ । तर हरेक दिन दुई हजारभन्दा बढी मान्छे प्लेन चढेर नेपाल छोडिरहेका छन् । कन्भिन्स छैनन् । सबैकुरा राम्रो हुँदाहुँदै पनि उसले आफ्नो भविष्य सुरिक्षत देखिरहेको छैन,’ उनले भने ।
युवा पलायनको समस्यालाई चिर्न संविधान संशोधनको माध्यमबाट लोकतन्त्रका बाँकी पक्षमा काम गर्न जरुरी रहेको नेता रिजालको भनाइ छ ।
संविधानको ९ वर्षको अभ्यासको समीक्षा गर्दै संशोधनको काम गर्नुपर्नेमा उनले जोड दिए ।
‘आवधिक निर्वाचनले जन्माएको एउटा मात्र पक्ष भनेको सरकार हो । अहिले पनि कृत्रिम बहुमतको आधारमा मुलुकमा सरकार गठन भइरहेको छ । जनताले दिएको बहुमत कुनैपनि राजनीतिक दलले पुर्याउनका लागि हामीले बनाएको नौ वर्षको अभ्यासबाटै केही परिवर्तनहरू गर्नुपर्ने छ । त्यसका लागि कांग्रेस र एमाले आउनुपर्छ भन्ने मान्यता राख्ने मान्छे हो म,’ रिजालले भने ।