लुम्बिनी विकास कोषमा धर्ना दिन गएका स्थानीय र प्रहरीबिच झडप
काठमाडौं, ८ पुस । लुम्बिनी विकास कोषको कार्यालयमा आफ्ना विभिन्न मागसहित धर्ना दिन पुगेका स्थानीय र प्रहरीबिच झडपको अवस्था सिर्जना भएको छ ।
प्रहरीले विरोध प्रदर्शनमा उत्रेका स्थानीय महिलाहरुमाथि बल प्रयोग गर्न खोजेपछि दोहोरो झडपको अवस्था सिर्जना भएको हो ।
लुम्बिनी बचाउ महाअभियान र लुम्बिनी विकास कोषबिच यसअघि भएको १२ बुँदे सम्झौता कार्यन्वयन नभएको बताउँदै स्थानीयले कोषको केन्द्रीय कार्यालय लुम्बिनीमा प्रदर्शनका क्रममा प्रहरीले बल प्रयोग गरेको स्थानीयले आरोप लगाएका छन् ।
प्रहरीले मायादेवी मन्दिरभित्र परम्परागत पूजापाठ गर्न पाउनुपर्ने, अदालतको आदेशविपरीत लगाइएको मायादेवी मन्दिर प्रवेश शुल्क खारेज गर्नुपर्ने, उत्खनन्‌काबेला प्राप्त मूर्ति र अस्तुधातुलगायतका सामाग्री खोजी गरी लुम्बिनीमै पुनर्स्थापित गर्नुपर्ने लगायतका मागसहितविरोध प्रदर्शन गरिरहेका स्थानीयमाथि धक्कामुक्की र लाठी समेत प्रहार गरेर कार्यालय हाता बाहिर पुयाएको थियो।
प्रदर्शनकारी महिलाहरुलाई चोटपटक लागेपछि आक्रोशित स्थानीयले ढुंगामुढा प्रहार गरेका थिए ।
लुम्बिनी बचाउ महाअभियानका संयोजक अकरामुद्दीन खानले कार्यालय घेराउ गर्न उपस्थित भएका महिलाहरुमाथि प्रहरीले दमन गरेको बताए । ‘सम्झौताहरु कार्यान्वयन किन नभएको भन्दै कार्यालय घेराउ गर्न पुगेको स्थानीयहरुमाथि प्रहरीले लाठी प्रहार गरेर मुठभेड निम्त्यायो।’ उनले भने ।
उनले लुम्बिनी विकास कोषले सम्झौता कार्यन्वयन नगरे अब कडा अन्दोलनमा जाने चेतावनी उनले दिए ।
मायादेवी मन्दिरमा पूजा गर्ने परम्परालाई बन्देज लगाएर लुम्बिनी विकास कोषमा जग्गा दान दिएकाहरुलाई अवहेलना गरि कर्मचारी भर्ना गरिएको आरोप उनले लगाए ।
यस्तै, मायादेवी मन्दिरमा प्रवेशको लागि लगाइएको टिकट शुल्क खारेज गर्नु पर्ने माग समेत उनले गरे ।
प्रहरीले स्थिति नियन्त्रणमा लिन मात्र खोजेको तर, कुनै किसिमको बल प्रयोग नगरेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी नायब उपरीक्षक (डीएसपी) सुरज कार्कीले दाबी गरे ।
डीएसपी कार्कीले कार्यालयभित्र रहेका भीडलाई नियन्त्रण गर्न सबैलाई बाहिर मात्र निकालिएको बताए ।