रवि लामिछाने सांसद पदबाट निलम्बित
काठमाडौँ, ८ पुस । चितवन-२ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य रवि लामिछाने स्वतः निलम्बनमा परेको सङ्घीय संसद सचिवालयले जनाएको छ ।
प्रतिनिधिसभाका महासचिव पद्मप्रसाद पाण्डेयले आज जारी गरेको सूचनामा सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण ऐन, २०६४ को दफा २७ अनुसार उनी स्वतः निलम्बनमा परेको उल्लेख छ ।
सो दफामा ‘प्रचलित कानुनबमोजिम स्थापित सङ्गठित संस्थाको कुनै पदाधिकारी वा कर्मचारी वा कुनै राष्ट्रसेवक यस ऐनबमोजिम थुनामा रहेकामा त्यसरी थुनामा रहेको अवधिभर र निजउपर दफा २२बमोजिम मुद्दा दायर भएकामा सो मुद्दाको किनारा नभएसम्म त्यस्तो कर्मचारी, पदाधिकारी वा राष्ट्रसेवक स्वतः निलम्बन भएको मानिन्छ”, भन्ने व्यवस्था रहेको सूचनामा उल्लेख गरिएको छ ।
सोही कानुनी व्यवस्थाबमोजिम सूचना जारी गरिएको महासचिव पाण्डेयले उल्लेख गरेका छन्। जिल्ला प्रहरी कार्यालय कास्कीले आइतबार सभामुखलाई पत्र लेखी चितवन–२ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य लामिछानेविरुद्ध कास्की जिल्ला अदालतमा मुद्दा दायर गरिएको जानकारी दिएको थियो ।
पत्रमा सहकारी ठगी, सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दाको पूरक अभियोगपत्र दर्ता भएको जनाइएको छ । सम्पत्ति शुद्धीकरण निवारण ऐन, २०६४ को दफा २७ को प्रयोजनार्थ जानकारीका लागि अनुरोध गरिएको प्रहरीले सभामुखलाई लेखेको पत्रमा उल्लेख गरिएको छ ।
प्रतिनिधिसभा, नेपाल प्रहरी प्रधान कार्यालय, गण्डकी प्रदेश प्रहरी कार्यालय, नेपाल प्रहरी प्रदेश कार्यालय, अवरोध जाहेरी शाखा गण्डकीलाई पनि बोधार्थ दिई कास्की प्रहरीले सभामुखलाई पत्र लेखको थियो ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापतिसमेत रहेका लामिछानेविरुद्ध आइतबार जिल्ला अदालत कास्कीमा सहकारी ठगी, सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दाको पूरक अभियोगपत्र (दर्ता नं. २०८१–०१–०४३५) दर्ता भएको थियो । यससम्बन्धी विवरणसहितको पत्र जिल्ला सरकारी वकिलको कार्यालय कास्कीबाट संसद् सचिवालयलाई प्राप्त भएको पनि सूचनामा गराइएको छ ।