'क्रोएसिया र साइप्रस पठाइदिन्छु' भन्दै ठगी गर्ने २ जना पक्राउ
काठमाडौं, ९ पुस । वैदेशिक रोजगारीका लागि क्रोएसिया र साइप्रस आकर्षक तलबमा पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा दुई जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा उदयपुर रौतामाई गाउँपालिका-३ घर भई काठमाडौं गोकर्णेश्वर नगरपालिका-८ बस्ने ५३ वर्षीय यादबहादुर बुर्जामगर र बारा पचरौता नगरपालिका-८ घर भई काठमाडौं भिमसेनगोला बस्ने ३५ वर्षीय सञ्जय साह बानियाँ रहेका छन् ।
मगरले क्रोएसिया पठाइदिन्छु भन्दै २ जना पीडितसँग ५ लाख ७५ हजार रूपैयाँ र सञ्जयले साइप्रस पठाइदिन्छु भन्दै १ जनासँग ४ लाख ६० हजार रूपैयाँ लिएर सम्पर्कविहीन भएका थिए ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले पीडितहरूको उजुरीको आधारमा मगरलाई काठमाडौं गोकर्णेश्वर नगरपालिका-८ बाट र सञ्जयलाई काठमाडौं टेकुबाट पक्राउ गरेको हो ।
अपराध अनुसन्धान कार्यालयले उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको जनाएको छ ।