म्यानमारबाट ५ नेपालीको उद्धार

काठमाडौं, ९ पुस । आकर्षक जागिरको प्रलोभन देखाएर म्यानमारमा अलपत्र पारिएका पाँच जना नेपाली नागरिकको उद्धार गरिएको छ । ती नेपालीलाई थाइल्याण्ड हुँदै नेपाल फर्काइएको छ ।
नेपाली राजदूतावास, बैंककले एक महिलालाई आज र चार पुरुषलाई १७ डिसेम्बरमा नेपाल फर्काइएको जनाएको छ ।
‘म्यानमारको मेवाडीबाट उद्धार गरी टाक इमिग्रेसन अफिस मेसोट हुँदै थाइल्याण्ड ल्याइएका पाँच जना नेपाली नागरिकहरुमध्ये चार जना (पुरुष) थाइ सरकारी निकाय, आईओएम थाइल्याण्ड तथा अन्य गैरसरकारी संस्थासमेतको सहयोगमा यही १७ डिसेम्बर २०२४ मा नेपाल फर्काइएको र आज २४ डिसेम्बर २०२४ मा १ जना महिलालाई नेपाल फर्काइएको छ,’ दूतावासले जारी गरेको प्रेस विज्ञप्तिमार्फत भनेको छ ।
नेपालीहरूलाई थाइल्याण्ड र म्यानमारमा सूचना प्रविधि क्षेत्रमा आकर्षक तलब सुविधा दिने प्रलोभन देखाएर म्यान्मारको कायिन प्रान्तको मेवाडी पुर्याएर जबरजस्ती गैरकानूनी काममा लगाउने गरिएको छ ।
यसैबीच हिजो (सोमबार) मात्रै परराष्ट्र मन्त्रालयले भ्रमपूर्ण विज्ञापन र आश्वासनमा नफस्न आग्रह गर्दै ट्राभल एडभाइजरी जारी गरेको थियो ।
नेपाल सरकारले तोकेका मापदण्डअनुसार श्रम स्वीकृति लिएर मात्र वैदेशिक रोजगारीमा जानका साथै कसैको प्रलोभन परी छिटो पैसा कमाउने भनेर कम्वोडिया, लाओस, म्यानमार र थाइल्याण्डलगायत देशमा रोजगारीमा नजान बैंककस्थित राजदूतावासले सबैलाई आग्रह समेत गरेको छ ।