वाइडबडी घोटाला प्रकरण: नेपालीलाई घुस खुवाउने अमेरिकी कम्पनीलाई ५५ मिलियन डलर जरिवाना

वाइडबडी घोटाला प्रकरण: नेपालीलाई घुस खुवाउने अमेरिकी कम्पनीलाई ५५ मिलियन डलर जरिवाना

काठमाडौं, ९ पुस । वाइडबडी विमान घोटाला प्रकरणमा नेपाली पक्षलाई घुस खुवाउने अमेरिकी कम्पनीलाई ५५ मिलियन डलर (सात अर्ब ४९ करोड २६ लाख रुपैयाँभन्दा बढी) जरिवाना गरिएको छ ।

अमेरिकी सरकारको सार्वजनिक मामिला कार्यालयले एक विज्ञप्ति जारी गर्दै एएआर कर्पलाई ५५ मिलियन डलर जरिवाना गरिएको जनाएको छ ।

“सन् २०१५ देखि २०२० को बीचमा एएआरले नेपाल र दक्षिण अफ्रिकामा सरकारी स्वमित्वको एयरलायन्ससँग व्यापार प्राप्त गर्न र कायम राख्न सरकारी अधिकारीलाई घुस दिने षड्यन्त्र गरेको थियो ।” विज्ञप्तिमा भनिएको छ ।

घुस दिएपछि कम्पनीले २४ मिलियन अमेरिकी डलरबराबरको व्यापार प्राप्त गरेको विज्ञप्तिमा बताइएको छ ।

एएआरले विभिन्न बिचौलिया कम्पनीमार्फत नेपाली अधिकारीलाई घुस दिएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

दुई वाइडबडी विमान ए३३०-२०० विमान बिक्री गर्दा भ्रष्टाचारको अभियोगमा एएआरलाई जरिवाना गरिएको हो । एएआरले नेपाल वायुसेवा निगमका तत्कालीन पदाधिकारीसँग मिलेर भ्रष्टाचार गरेको विज्ञप्तिमा बताइएको छ ।