उत्तर कोरियाको सेनाले युद्धमा अहिलेसम्म उल्लेख्य प्रभाव नपारेको युक्रेनको भनाइ

उत्तर कोरियाको सेनाले युद्धमा अहिलेसम्म उल्लेख्य प्रभाव नपारेको युक्रेनको भनाइ

काठमाडौं, एजेन्सी । रूसी क्षेत्र कुस्र्कमा रूसी सेनासँगै उत्तर कोरियाली सैनिकको उपस्थितिले युद्धको क्रममा अहिलेसम्म ठूलो असर नपरेको युक्रेनी सैन्य गुप्तचर अधिकारीले मङ्गलबार एएफपीलाई बताएका छन् ।

किएभका अनुसार करिब ५०० अधिकारी र तीन जना जनरलसहित १२ हजार उत्तर कोरियाली सैनिक सीमा क्षेत्रमा कार्यरत छन् ।

रूस र उत्तर कोरिया दुवैले फ्रन्टलाइनमा आफ्नो संलग्नताको पुष्टि गरेका छैनन् ।

“युद्धमा उत्तर कोरियालीहरूको संलग्नताले स्थितिमा खासै प्रभाव पारेको छैन”, युक्रेनी सैन्य गुप्तचर सेवा (जीयूआर) का प्रवक्ता येवगेन येरिनले एएफपीसँग भने, “यो त्यति सैनिकहरूको ठूलो सङ्ख्या होइन ।

उत्तर कोरियाली सेनालाई आधुनिक युद्ध, विशेषगरी ड्रोनको बारेमा थोरै मात्र अनुभव भएको उनले बताए। उत्तर कोरियाली सेना परम्परागत हतियारको प्रयोग र शैलीको युद्धमा भने पोख्त बरहेको पाइएको छ । 

उनले अगाडि भने, “उनीहरूले पनि सिकिरहेका छन् र हामी शत्रुलाई कम आँक्न सक्दैनौं । हामी देख्न सक्छौँ, उनीहरूले पहिले नै आफ्ना गतिविधिहरूमा केही चीजहरू ध्यानमा राखिरहेका छन् ।” 

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले यसै हप्ता उत्तर कोरियाका करिब तीन हजार सैनिक मारिएको र घाइते भएको बताएका थिए । 

दक्षिण कोरियाले सोमबार एक हजार १०० जना मारिएको वा घाइते भएको जानकारी दिएको थियो । दक्षिण कोरियाका अनुसार उत्तर कोरियाले रूसमा सैन्य सुदृढीकरणको लागि नयाँ समूहहरू पठाउने वा पहिले नै लडिरहेकाहरूलाई राहत दिन र ड्रोनहरू पठाउने तयारी गरिरहेको देखिन्छ।