साढे ६ अर्बको लागतमा कोहलपुर-सुर्खेत-बाङ्गेसिमल सडक स्तरोन्नति हुने
काठमाडौं, १० पुस । बाँके, बर्दिया र सुर्खेतलाई स्थलमार्गमा जोड्ने रत्न राजमार्ग अन्तर्गत कोहलपुर–सुर्खेत–बाङ्गेसिमल (९०.७५ किलोमिटर) सडकखण्डको स्तरोन्नति हुने भएको छ ।
यस राजमार्गको स्तरोन्नति प्रयोजनका लागि वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदन सडक विभागले वन तथा वातावरण मन्त्रालयमा पठाएको छ ।
प्रस्तावित सडक स्तरोन्नतिका लागि सडकको क्षेत्राधिकार भित्र नै आयोजनालाई आवश्यक पर्ने जग्गा रहेकाले थप जमिना भने अधिग्रहण गर्नु नपर्ने प्रतिवेदनमा भनिएको छ ।
यस आयोजनाको कुल लागत अनुमान ६ अर्ब ५० करोड रुपैँया रहेको छ । अगामी चार वर्षभित्र सडक निर्माणको कार्य सक्ने लक्ष्य राखिएको प्रतिवेदनमा उल्लेख गरिएको छ ।
हाल विद्यमान रहेको चौडाइ ५.५ मिटरको यस सडकलाई स्तरोन्नति गरी अब ७ मिटर पुर्याइने छ । स्तरोन्नतिपछि सडक दुई लेन कालोपत्र बन्ने छ । यस सडक खण्डमा विभिन्न स्थानमा भत्कने समस्या र दुईतर्फी सवारी सञ्चालनमा बाधा आएपछि सरकारले स्तरोन्नति गर्ने रणनीति बनाएको हो ।
आयोजनाभित्र ३८ वटा पुल जीर्ण अवस्थामा रहेको र यसलाई आयोजनाले स्तरोन्नति गर्ने भएको छ । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरलाई लुम्बिनी प्रदेशको व्यापारिक सहर नेपालगञ्ज र अन्य प्रमुख सहरसँग सहज सडक सञ्जाल स्थापित हुनेछ ।
पूर्वपश्चिम राजमार्ग अन्तर्गत कोहलपुर चोकबाट सुरु हुने यो राजमार्गको अन्तिम बिन्दु सुर्खेत वीरेन्द्रनगरस्थित बाङ्गेसिमल हो । आयोजना कार्यान्वयनका बेला सामुदायिक वनमा ४ हजार ३ सय ४८ र राष्ट्रिय निकुञ्जमा ६ हजार ५ यस ३८ रुख काट्नुपर्ने देखिएको छ ।