नेपाल उद्योग तथा व्यवसायी महासंघको विधान सम्मेलन नवलपुरमा सुरु हुँदै
काठमाडौं, ११ पुस । सत्तारुढ दल नेकपा एमाले निकट नेपाल उद्योग तथा व्यवसायी महासंघको केन्द्रीय विधान तथा नीति निर्माण सम्मेलन नवलपुरमा हुने भएको छ ।
सम्मेलन संयोजक भागरिथ सापकोटाले पुस १२ र १३ गते नवलपुरको गैंडाकोटमा विधान तथा नीति निर्माण सम्मेलन हुन लागेको जानकारी दिए ।
उनका अनुसार सम्मेलनमा वर्तमान समयमा नेपाली अर्थतन्त्रमा देखिएका समस्या र समाधान सहितको दृष्टिकोणबारे छलफल हुनेछ ।
सम्मेलनको उद्घाटन एमाले महासचिव शंकर पोखरेलले गर्ने कार्यक्रम तय भएको छ । उक्त कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीका आर्थिक सल्लाहकार युवराज खतिवडा पनि सहभागी हुने संयोजक सापकोटाले बताए ।
सम्मेलनमा देशको सवल अर्थतन्त्रका लागि ५ वटा आधारस्तम्भ ऊर्जा, पर्यटन, कृषि, सूचना प्रविधि र कच्चा पदार्थमा आधारित उद्योगहरुका बारेमा छलफल गरिने उनले बताए ।
महासंघका निवर्तमान उपाध्यक्ष एवम् विधान तथा नीति निर्माण सम्मेलन संयोजक डा.तिलचन्द्र भट्टराईले सरकार, पार्टी र व्यवसायी गरी त्रिपक्षीय छलफल हुने र राज्यलाई सुझाव दिइने बताए । भट्टराईले सम्मेलनमा देशका ७७ वटै जिल्लाबाट करिब तीन सय जना व्यवसायी प्रतिनिधिहरु सहभागी हुने जानकारी दिए ।