राष्ट्रिय एकताका लागि समावेशी शासन प्रणाली आवश्यक : सञ्चारमन्त्री गुरुङ

राष्ट्रिय एकताका लागि समावेशी शासन प्रणाली आवश्यक : सञ्चारमन्त्री गुरुङ

काठमाडौँ, ११ पुस ।  सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले समावेशी समाज निर्माणले राष्ट्रिय एकता कायम गर्न महत्वपूर्ण भूमिका निवार्ह गर्ने बताएका छन् । 

सञ्चार मन्त्रालयमा आज आयोजित एक कार्यक्रममा गोरखापत्र संस्थानले सुरु गरेको वाम्बुले राई भाषाको उद्घाटन गर्दै मन्त्री गुरुङले समावेशी सिद्धान्तलाई राजनीतिमा मात्रै नभइ समाजका हरेक क्षेत्रमा लागू गर्नुपर्ने बताए ।

हाम्रो संविधानले मुलुकका सबै क्षेत्रको प्रतिनिधित्व रहने इन्द्रेणीको जस्तै रङ्गीन एवं सहभागितामूलक समाजको परिकल्पना गरेकाले सोहीअनुसारको सङ्घीय शासन प्रणालीका पक्षमा समग्र राज्य एक हुनुपर्ने धारणा व्यक्त गरे ।

“यो मुलुक सबैको साझा हो, समावेशीले हरेक समुदायमा अपनत्व महशुस गराउछ”, उनले भने, “राष्ट्रिय एकताका लागि पनि देशमा समावेशी शासन व्यवस्था हुन जरुरी छ ।”