एनसेलविरुद्ध सांसद अमरेशको रिट खारेज, सर्वोच्चको निर्देशनात्मक आदेश
काठमाडौं, ११ पुस । सांसद अमरेशकुमार सिंहले एनसेलको ८० प्रतिशत सेयर हिस्सा ओगट्ने कम्पनीको किनबेच रोक्नुपर्ने दाबीसहित दायर गरेको रिट निवेदन सर्वोच्च अदालतले खारेज गरिदिएको छ
न्यायाधीशहरू सपना प्रधान मल्ल र टेकप्रसाद ढुंगानाको इजलासले रिट निवेदन खारेज गर्दै केही निर्देशनात्मक आदेश जारी गरेको हो । आदेशको विवरण सार्वजनिक भइसकेको छैन ।
सर्लाही–४ का स्वतन्त्र सांसद अमेरेश कुमार सिंहले रेनोल्ड होल्डिङस्को शेयर खरिदबिक्री रोकिनुपर्ने माग राखेर रिट हालेका थिए ।
मलेसियाको आजिआटा कम्पनीले रेनोल्ड होल्डिङको सबै सेयर बेलायतमा स्थापना भएको स्पेक्ट्रलाईट यु.के.लिमिटेडलाई बेच्ने निर्णय गरेको थियो । शेयर खरिदबिक्रीको निर्णय सर्वाजनिक भएलगत्तै विभिन्न तहबाट प्रश्न उठेको छ ।
पुँजीगत लाभकर छल्ने उद्देश्यले वास्तविकभन्दा कम मूल्यमा शेयर विक्री गर्न खोजिएको भनी रिट निवेदन दर्ता गरिएको थियो । आजिआटाले टेलिकम क्षेत्रका व्यवसायी सतीशलाल आचार्यलाई ५५ मिलियन अमेरिकी डलर (करिव ६ अर्ब ६५ करोड) नेपाली रुपैयाँमा शेयर बिक्री गर्ने बताएको थियो ।
सन् २०१६ मा एक खर्ब ४३ अर्ब रुपैंयामा आजियाटाले एन्सेलको ८० प्रतिशत खेयर खरिद गरेको थियो । सांसदले सिंहले सात वर्षमा नै ठूलो रकम गिरावटका साथ शेयर खरिदबिक्री भएको भन्दै प्रश्न उठाएका थिए ।
एनसेलले वार्षिक करिव ४० अर्ब रुपैयाँ आम्दानी गरेको अवस्थामा कम मूल्य राखेर सेयर बिक्री गर्नु गलत भएको उनको निवेदनमा दाबी छ । एन्सेलले नेपालीका तीन ठूला बैंकहरूबाट ४० अर्ब ऋण लिएको अवस्थामा ६ अर्बमा मात्रै कम्पनीको ८० प्रतिशत शेयर बिक्री हुन नसक्ने उनको जिकीर छ ।
उनले एनसेलको शेयर खरिदबिक्री गरी नामसारी गर्ने काम नगर्न नगराउन माग गरेका थिए । उनको रिट निवेदनमा एन्सेल, नेपाल दूरसञ्चार प्राधिकरण, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, प्रधानमन्त्री कार्यालय, आन्तरिक राजस्व कार्यालयलाई पनि विपक्षी बनाइएको थियो ।