भारतका पूर्वप्रधानमन्त्री सिंहको ९२ वर्षको उमेरमा निधन

भारतका पूर्वप्रधानमन्त्री सिंहको ९२ वर्षको उमेरमा निधन

काठमाडौं , १२ पुस । भारतका पूर्वप्रधानमन्त्री डा. मनमोहन सिंहको ९२ वर्षको उमेरमा निधन भएको छ । सन् २००४ देखि २०१४ सम्म भारतको प्रधानमन्त्रीको पद सम्हालेका  सिंहकाे बिहीबार राति दिल्लीको एम्स अस्पतालमा उपचारको क्रममा निधन भएको हो। 

उनी भारतीय कांग्रेसका दिग्गज नेतासमेत रहेका थिए । अस्पतालले राति नौ बजेर ५१ मिनेटमा सिंहको निधन भएको  पुष्टि  गर्दै केहीअघि एक मेडिकल बुलेटिन जारी गरेको छ ।

मेडिकल बुलेटिनमा उल्लेख गरिएको छ, ‘गहिरो शोकको साथ हामी भारतका पूर्वप्रधानमन्त्री डा. मनमोहन सिंहको ९२ वर्षको उमेरमा निधन भएको जानकारी गराउँदछौं । उहाँ उमेरसँग सम्बन्धित स्वास्थ्य अवस्थाको लागि उपचार गरिरहनुभएको थियो र बिहीबार घरमा अचानक बेहोस हुनुभएको थियो । बेलुकी आठ बजेर ६ मिनेटमा नयाँ दिल्लीको एम्समा मेडिकल इमर्जेन्सीमा ल्याइएकोमा सबै प्रयासका बाबजुद राति नौ बजेर ५१ मिनेटमा मृत घोषणा गरियो ।’

भारतीय अर्थतन्त्रको विकासमा बलियो जग बसाएको भन्दै सिंहलाई सुदृढ आर्थिक परिवर्तनको श्रेय दिने गरिन्छ ।