बैंक वा वित्तीय संस्थाहरू टाट पल्टिए कसरी रकम फिर्ता हुन्छ ?

बैंक वा वित्तीय संस्थाहरू टाट पल्टिए कसरी रकम फिर्ता हुन्छ ?

काठमाडौं, १२ पुस । बैंकिङ व्यवसायमा प्रशस्त जोखिम भइरहने हुँदा प्रणालीमा कमजोर वित्तीय संस्थाहरू विघटन हुने अवस्था आउन सक्ने सम्भावना उत्तिकै रहेको हुन्छ ।

यद्यपि, विगतमा नेपालमा बैंकहरू डुबेको ठूलो उदाहरण नभेटिएपनि १५ वर्ष अगाडि देशको पहिलो विकास बैंक नेपाल विकास बैंकको वित्तीय अवस्था खराब भई खारेजीमा परिसकेको छ ।

कुनै पनि कारणले बैंक टाट पल्टिने अवस्था आई ग्राहकले बैंकमा जम्मा गरेको निक्षेप मागेको बखत ग्राहकलाई फिर्ता भुक्तानी गर्न नसक्ने अवस्था आएमा ग्राहकको रकम नडुबोस भनेर बैंकहरूले निक्षेपको सुरक्षण अर्थात् निक्षेपको बिमा गराउनु पर्ने बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐनमा कानुनी व्यवस्था रहेको छ ।

अदालतले कुनै बैंक वा वित्तीय संस्था बाध्यात्मक खारेजीमा लैजाने काम कारवाही प्रारम्भ गर्न राष्ट्र बैंकलाई लिक्विडेटरको नियुक्तिको लागि सिफारिस गर्न आदेश दिनेछ र सिफारिस भएका मध्येबाट अदालतले एक जना लिक्विडेटरको नियुक्ति गर्नेछ । लिक्विडेटरले खारेजी हुने बैंक वा वित्तीय संस्थाको सम्पत्ति दायित्व वा सम्भाव्य दायित्वको हिसाब लागत तयार गरी लिलाम बिक्री गर्दछ ।

यसरी बिक्री गरेर प्राप्त रकमबाट लिक्विडेटरले ऐन अनुसार प्राथमिकता क्रमानुसार अनुसार दायित्व रकम भुक्तानी गर्दछ । सर्वप्रथम बाध्यात्मक खारेजीका लागि भएका खर्चहरूको भुक्तानी गरिन्छ । दोस्रोमा निक्षेप सुरक्षण भएका निक्षेप फिर्ता गरिन्छ । नेपालमा अहिले पाँच लाख रुपैंयासम्मको निक्षेपको निक्षेप सुरक्षण बिमा हुने हुँदा प्राकृतिक व्यक्तिको पाँच लाख रुपैंयासम्मको निक्षेप फिर्ता गरिन्छ । तेस्रोमा अगाडिको दुईवटा दायित्व भुक्तानी भई बाँकी हुनआएको अरु निक्षेपको रकम फिर्ता गरिन्छ ।

यसरी अरु निक्षेपको पनि भुक्तानी भई रकम बाँकी रहेमा कर्मचारीलाई दिनुपर्ने तलब, भत्ता, अन्य दायित्व, सरकारलाई, राष्ट्र बैंकलाई तिर्नु बुझाउनुपर्ने रकम, अन्य बैंक वा वित्तीय संस्थालाई तिर्न बाँकी शुल्क, मुल्याङ्कन बापतको रकम, अन्य साहु वा अन्य दाबीको भुक्तानी प्राथमिकताको आधारमा गरिने व्यवस्था रहेको छ । यसरी सबै दायित्व भुक्तानी गरेपछि रकम बाँकी रहेमा शेयरधनीहरूलाई दामाशाहीले रकम भुक्तानी गरिन्छ ।