दक्षिण कोरिया विमान दुर्घटना अपडेट: १७९ जनाको मृत्यु, २ जनाको जीवितै उद्धार
काठमाडौं, १४ पुस। दक्षिण कोरियामा आज बिहान भएको विमान दुर्घटनामा १७९ जनाको ज्यान गएको अधिकारीहरुले बताएका छन् ।
विमानमा सवार १८१ जनामध्ये महिलाको जीवितै उद्धार गरिएको थियो । उनीहरु एक जना चालक दलका सदस्य र एक जना यात्रु हुन् ।
दुर्घटनालगत्तै अग्नि नियन्त्रकसहितका उद्धारकर्ताले उनीहरुको उद्धार गरेका थिए । उनीहरुको उपचार मोकपो अस्पतालमा भइरहेको बताइएको छ ।
उनीहरुबाहेक अन्य कोही पनि जीवित फेला नपरेको अधिकारीहरुलाई उद्धृत गर्दै योनहाप समाचार एजेन्सीले बताएको छ ।
थाइल्याण्डको बैंककबाट आएको जेजु एयरको विमान दक्षिण कोरियाको मुआन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने क्रममा दुर्घटना भएको थियो । विमानमा चालक दलका ६ सदस्यसहित १८१ जना थिए । उनीहरुमध्ये दुई जना थाइल्याण्डका र अरु सबै दक्षिण कोरियाका थिए ।
विमान दुर्घटनाको कारण खुलिसकेको छैन । यद्यपी, विमान धावनमार्गमा चिप्लिएर बारमा ठोक्किएर विमानमा आगो लागेको थियो ।
विमान दुर्घटना दक्षिण कोरियाको जेओला प्रान्तको मुआन काउन्टीस्थित मुआन अन्तर्राष्ट्रिय विमानस्थलमा भएको हो । यो विमानस्थल राजधानी सियोलबाट २८८ किलोमिटर दक्षिण पश्चिममा रहेको छ ।