आरोही पूर्णिमा श्रेष्ठ सीएनएनको सूचीमा
काठमाडौं, १४ पुस । विश्वप्रसिद्ध सञ्चार संस्था सीएनएनले नेपाली पर्वतारोही पूर्णिमा श्रेष्ठलाई वर्ष २०२४ को सफल खेलाडीको सूचीमा समावेश गरेको छ ।
सन् २०२४ मा विश्वभरीमा उल्लेखनीय सफलता प्राप्त गरेका खेलाडीहरूको समावेश गरिएको सूचीमा पूर्णिमा पनि परेकी हुन् ।
सीएनएनले पूर्णिामले दुई सातामा तीनपटक सगरमाथा आरोहण गरेर विश्वकीर्तिमान कायम गर्दै इतिहास रचेको बताएको छ । सीएनएनले यो उपलब्धि केवल १३ दिनमा हासिल गरेको भन्दै फोटो पत्रकार समेत रहेकी श्रेष्ठलाई सूचीमा उल्लेख गरेको छ ।
सीएनएन स्पोर्टसँग उनले भनेकी छन्, ‘मेरो शरीर थकित भएको थियो। म आफूलाई कहिलेकाहीं मूर्ख महसुस गर्थें। उद्देश्यबाट पछि हटौं कि जस्तो लाग्थ्यो,’ उनले धेरै खर्चका कारण यो काम मुस्किल भए पनि आफ्नो सपनामा अडिग भएकोले सफल हुन सकेको बताएकी छिन् ।
पूर्णिमाले सन् २०२१ मा सातौं अग्लो हिमाल, माउन्ट धौलागिरी, आरोहण गर्ने पहिलो नेपाली महिला बन्ने कीर्तिमान पनि बनाएकी छिन् ।
पूर्णिमाले सीएनएनको सम्मानप्रति गौरवान्वित महसुस गरेको प्रतिक्रिया दिएकी छिन् । उनले सन् २०२४ जीवनको एक ऐतिहासिक वर्ष बन्न पुगेको शनिबार साँझ सामाजिक सञ्जालमा एक सन्देश शेयर गर्दै उनले उल्लेख गरेकी छिन् ।
‘यो वर्ष, सन् २०२४ मेरो जीवनको एक ऐतिहासिक वर्ष बन्न पुग्यो । यसै वर्ष म एउटै आरोहण सिजनमा तीन पटक विश्वकै सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गर्ने संसारकै पहिलो र एकमात्र महिला बन्न सफल भएँ’ यस यात्रामा मलाई साथ र हौसला दिने मेरो परिवार, साथीहरू र सबै तपाईंहरूलाई धन्यवाद । आउँदो वर्ष सन् २०२५ अझ नयाँ उचाइहरू र साहसिक यात्राहरूको वर्ष बनोस् भन्ने शुभकामना व्यक्त गर्दछु ।’ उनले सामाजिक सञ्जालमा उल्लेख गरेकी छिन् ।