राष्ट्रिय पुँजी निर्माण गर्न पर्यटन क्षेत्रको महत्व छः मन्त्री मण्डल

राष्ट्रिय पुँजी निर्माण गर्न पर्यटन क्षेत्रको महत्व छः मन्त्री मण्डल

विराटनगर, १४ पुस । कोशी प्रदेश सरकारले पर्यटन वर्ष-२०८२  का लागि सचिवालयको स्थापना गरेको छ ।

पर्यटन, वन तथा वातावरण मन्त्रालयमा स्थापना गरिएको सचिवालयको उद्घाटन गर्दै पर्यटन, वन तथा वातावरणमन्त्री सदानन्द मण्डलले राष्ट्रिय पूँजी निर्माण गर्न पर्यटन क्षेत्रको महत्वपूर्ण भूमिका रहेको  बताएका छन् ।

उनले कोशी प्रदेशमा धार्मिक, भौगोलिक र प्राकृतिक हिसाबले पनि पर्यटनको प्रशस्त सम्भावना रहेकाले यसको सदुपयोग गर्नुपर्नेमा जोड दिए ।

“हामीले प्रवेशद्वारमा नै प्रहरी जाँच गराइ पर्यटक आउने सवारीमा स्टिकर लगाउँछौँ जसले गर्दा बाटाबाटामा हुने प्रहरी चेकजाँचको समस्या हुँदैन”, उनले भने। 

पर्यटन वर्ष सफल पार्न निजी क्षेत्रको महत्वपूर्ण भूमिका रहने भएकाले विभिन्न समितिमा निजी क्षेत्रलाई संलग्न गराएको जानकारी दिए ।

मन्त्रालयका सचिव विशाल घिमिरेले पर्यटकका लागि यो प्रदेश अत्यन्त सम्भावनायुक्त भएका उल्लेख गर्दै पर्यटन वर्ष-२०८२ सफल पार्न सबैको साथ आवश्यक भएको बताए । पर्यटन वर्ष–२०८२ निर्देशक समितिका सहसंयोजक भविष्य श्रेष्ठ र कृष्णकुमार साहले सरकारले यो योजनालाई सफल बनाउन सबै अहोरात्र खटिने प्रतिबद्धता जनाए ।