प्रचण्ड लक्षित ओलीको टिप्पणी- अरुको काँधमा चढेर म्याजिक नम्बर भन्दै धक्कु लगाउने दिन सकिए
काठमाडौं, १४ पुस । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डतर्फ लक्षित गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले अर्काको काँध चढेर राज गरिरहने दिन सकिएको टिप्पणी गरेका छन् ।
आज (आइतबार) नेकपा एमाले, पर्सा कमिटीद्वारा आयोजित जनसभालाई सम्बोधन गर्दै उनले यस्तो दाबी गरेका हुन् ।
साथै, उनले अहिले नेपाली कांग्रेससँग बनेको सरकार गठबन्धन नभएर समीकरण भएको जिकीर उनले गरे ।
एमाले अध्यक्ष समेत रहेका ओलीले भने, ‘अर्काको काँधमा चढेर म्याजिक नम्बर भन्दै धक्कु लगाउँदै मनपरितन्त्र चलाउने दिन गए । त्यो दिन जानुपर्छ भनेर नै नेकपा एमाले र नेपाली कांग्रेसले मिलेर अहिलेको समीकरण बनाएको हो ।,’
उनले नेकपा एमाले र अहिलेकै समीकरणले देश विकास गर्ने र विकासको नेतृत्व एमालेले नै गर्ने दाबी समेत उनले गरे ।
‘हामीले त्यतिबेला सुरु गरेर बिजोग भएका कामहरू फेरि अघि बढाएका छौं । ती कामहरू गर्न अग्रसर छौं । विश्वास गर्नुस्, नेकपा एमालेले गर्छ, एमालेको नेतृत्वले गर्छ । अहिलेको सरकार नेकपा एमाले र नेपाली कांग्रेसको छ । यसले गर्छ । किनभने देशको राजनीति अत्यन्त अस्थिर भयो, ठूला पार्टीका बीचमा झगडा लगाउने, अनि अनेक खालका षड्यन्त्रकारी र भ्रष्ट तत्वहरूले राज गरिरहने भयो । एउटाको काँधबाट अर्काको काँधमा उफ्रने, अनि राज गरिरहने ?’ एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले भने ।