काठमाडौंमा ‘तमु ल्होसार’को रौनक
काठमाडौं, १५ पुस । गुरुङ समुदायले नयाँ वर्षलाई स्वागत गर्दै आज तमू ल्होसार मनाइरहेका छन् ।
‘ल्हो’को अर्थ वर्ष र ‘सार’ को अर्थ फेरिनु भएकाले वर्ष फेरिने दिनलाई ‘तमु ल्होसार’ भनिएको हो । तमू ल्होसार गुरुङ समुदायले नयाँ वर्षका रुपमा भव्यरुपमा मनाउने गर्दछन् ।
‘‘तमू ल्होसार’ पर्व सूर्यको किरणसँग सम्बन्धित छ । गुरूङ बाहुल्यता रहेको लमजुङ, गोरखा, तनहुँ, स्याङ्जा, मनाङ, कास्की, पर्वतलगायतमा सूर्यको ताप पहिले आउने भएकाले पुस १५ मा यो पर्व मनाउने गरिएको किम्वदन्ती छ ।
तामाङ र शेर्पा जातिको बसोवास भएको क्षेत्रमा सूर्यको ताप आउने भएकाले माघ र फागुनमा यो पर्व मनाइने विश्वास गरिन्छ ।
पुस १५ गतेको रात सबैभन्दा लामो हुने र यसपछिका रात घट्दै जाने भएकाले पनि यस पर्वको महत्व रहेको संस्कृतिविद्हरु बताउँछन् ।
आज सरकारले तमु ल्होसारका अवसरमा सार्वजनिक बिदा दिएको छ । टुँडिखेलमा गुरुङ समुदायले विशेष कार्यक्रम समेत आयोजना गरेका छन् ।