केपी ओली देशकै जाली, झेली, कपटी र बेइमान हुन्: प्रचण्ड
काठमाडौं, १५ पुस । प्रमुख प्रतिपक्षी दलका नेतासमेत रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सोमबार झापा पुगेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको गृहजिल्ला रहेको झापामा आयोजना भएको खबरदारी सभालाई सम्बोधन गर्न उनी त्यहाँ पुगेका हुन् ।
पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डले उक्त खबरदारी सभालाई सम्बोधन गर्दै ओलीमाथि गम्भीर आरोप लगाए । यसअघि पटक-पटक सत्ता सहकार्य गरेका उनीहरूबीच पछिल्लोपटक कांग्रेससँगको सत्ता सहकार्यपछि सम्बन्ध तिक्ततापूर्ण छ ।
उनले ओलीलाई देशकै ‘जाली, झेली, कपटी र बेइमानी’ भएको आरोप लगाएका छन् । ‘अहिलेका प्रधानमन्त्री देशको जाली, झेली, कपटी, बेइमानी । मेरो लागि त यति धेरै जाली, यति धेरै झेली मान्छे उनको ठाउँमा म बोल्दै छु, जालझेल बाहेक उहाँको दिमागमा अरू केही छैन ।’ प्रचण्डले ओलीलाई भने ।
प्रधानमन्त्री ओलीले आइतबार मात्रै पर्साको वीरगञ्ज पुगेर प्रचण्ड लक्षित अर्काको काँधमा चढेर राज गरिरहने दिन सकिएको दाबीसहित टिप्पणी गरेका थिए ।
साथै, उनले बिर्तामोडको गिरिबन्धु टी स्टेटमा ओलीले गरेको बदमासीलाई पर्दाफास गरेरै छाड्ने बताएका छन् ।
प्रचण्डले आफूलाई अलोकतान्त्रिक र तानाशाही ढंगबाट हटाइएको जिकिर समेत गरे ।