सबै समुदायलाई संस्कार र संस्कृतिको स्वतन्त्रतापूर्वक उपभोग गर्ने अवसर प्राप्त छ : उपप्रधानमन्त्री सिंह

सबै समुदायलाई संस्कार र संस्कृतिको स्वतन्त्रतापूर्वक उपभोग गर्ने अवसर प्राप्त छ : उपप्रधानमन्त्री सिंह

काठमाडौँ, १५ पुस । उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले कला, संस्कृति र परम्पराका हिसाबले समृद्ध रहेको तमु ल्होसार संरक्षण गर्न जागरूक हुनुपर्ने बताएका छन् ।

आज यहाँ टुँडिखेलमा आयोजना गरिएको तमु ल्होसार महोत्सवलाई सम्बोधन गर्दै उनले पुर्खाले सुम्पिएको समृद्ध संस्कृतिको रक्षा गर्दै नयाँ पुस्तालाई हस्तान्तरण गर्नुपर्नेमा जोड दिए । 

उपप्रधानमन्त्री सिंहले भने, “महोत्सवमा देखिएको सबै वर्गको उपस्थिति र सहभागिता राम्रो पक्ष हो । पुर्खाले हामीलाई सुम्पिएको अत्यन्त समृद्ध संस्कृति नयाँ पुस्तालाई हस्तान्तरण गर्नुपर्छ । जुन अधिकार प्राप्त गरेका छौँ, त्यसलाई संरक्षण र संवर्द्धन गर्नका लागि जिम्मेवार तवरले हामीले आफ्नो अधिकार प्रयोग गर्दै कसैलाई अप्ठ्यारो नहुनेगरी गर्नुपर्छ किनकि आफ्नो भाषा, धर्म, संस्कृति, रहनसहन, पुर्खाले छाडेर गएका रीतिथिति जोगाउन वर्तमानमा सक्रियता बढाउनु आवश्यक छ ।”

महोत्सवमा गुरूङ समुदायको उपस्थिति, कला, संस्कृति, परम्पराको प्रस्तुतिले आफ्नो पहिचान कायम गर्न अत्यन्त जागरूक देखिएको भन्दै उनले नयाँ पिँढीलाई परम्पराको हस्तान्तरण गरिरहेकामा बधाई ज्ञापन गर्दै उपप्रधानमन्त्री सिंहले राष्ट्र र समाजलाई उन्नत, सम्पन्न बनाउन आफ्नो कर्तव्य निर्वाह गर्न आग्रह गरे ।