राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला: नेपालमै पहिलो पटक स्तन क्यान्सरको वंशाणुगत परीक्षण सफल

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला: नेपालमै पहिलो पटक स्तन क्यान्सरको वंशाणुगत परीक्षण सफल

काठमाडौं, १६ पुस । नेपालमा पहिलोपटक वंशाणुगत परीक्षण ‘जिन सिक्वेन्सिङ’ सफल भएको छ । अहिलेसम्म यो परीक्षण नेपालमा सम्भव भएको थिएन  ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका  अनुसार,अबदेखि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामै यो परीक्षण गर्न सकिने भएको हो । यससँगै यस्तो परीक्षणका लागि नमूना देशबाहिर पठाउनुपर्ने बाध्यता हटेको छ । प्रयोगशालाले सफलतापूर्वक परीक्षण गरेसँगै वंशाणुगत परीक्षण सम्भव देखिएको हो ।

प्रयोगशाला प्रमुख रञ्जनराज भट्टले देशका कुनै पनि भागबाट प्राप्त हुने स्तन क्यान्सरको वंशाणुगत परीक्षणका लागि प्राप्त नमुना परीक्षण गर्न अब राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले सक्ने बताए । ‘यस्तो परीक्षण पहिलो पटक सम्भव भएको हो, ‘अब देशबाहिर नमुना पठाउनु पर्दैन ।’ उनले भने ।

वंशाणुगत कारणले हुने स्तन क्यान्सर हुने सम्भावना कुनै व्यक्ति तथा उनको परिवारमा भए नभएको यस्तो परीक्षणले पत्ता लगाइन्छ । त्यसैका आधारमा प्रारम्भिक चरणमै उपचार गर्न सकिएमा स्तन क्यान्सरबाट परिवारलाई जोगाउन सकिने चिकित्सकहरूको धारणा छ । 

बाहिर पठाउँदा समय पनि बढी लाग्ने र शुःल्क पनि बढी तिर्नु पर्ने  समस्या कम हुने प्रयोगशालाका भट्टले बताए । प्रयोगशालाले रगत र टिस्युबाट यस्तो नमुना परीक्षण गर्ने जनाएको छ । योसँगै प्रयोगशालाले क्यान्सरसम्बन्धी ४ थरीका नमूना परीक्षण नियमित गर्ने भएको छ ।

भारतमा स्तन क्यान्सरको वंशाणुगत नमुना परीक्षणका लागि ६० हजार रुपैयाँसम्म तिर्नुपर्नेछ । र, नमूना पठाउनका लागि लाग्ने समय पनि बढी लाग्ने गरेको क्यान्सर अस्पतालका चिकित्सक बताउँछन् । यद्यपी, प्रयोगशालाले भने ३० हजार रुपैयाँभित्रै परीक्षण गराउनेछ । 

नेपालमा वर्षमा करिब दुई हजार जनाले स्तन क्यान्सरको वंशाणुगत परीक्षण गर्दै आइरहेका छन् । हाल ती परीक्षण नियमित रुपमा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले गर्दै आइरहेको बताइएको छ ।