भीम रावलको घोषणा- वैकल्पिक राजनीतिक शक्ति बनाउन मातृभूमि जागरण अभियान सञ्चालन गर्ने
काठमाडौं, १७ पुस । पूर्वउपप्रधानमन्त्री समेत रहेका एमालेबाट निष्कासित नेता डा.भीम रावलले देशभक्तिपूर्ण वैकल्पिक राजनीतिक शक्ति निर्माणमा लाग्ने घोषणा गरेका छन् ।
काठमाडौंमा बुधवार पत्रकार सम्मेलनको आयोजना गरी नेता रावलले नेकपा एमाले घोषित सिद्धान्त, गन्तव्य र आदर्शविहीन बनेकाले वैकल्पिक पार्टी निर्माण गर्नुपरेको बताएका हुन् ।
‘आफ्नै घोषित सिद्धान्त, नीति र लक्ष्यका साथै नेपालको संविधानको मार्ग निर्देशनलाई समेत अवमूल्यन गरी केपी ओली गुटले नेकपा एमालेलाई दिशाहीन बनाउनुका साथै राष्ट्रिय राजनीति नै सिद्धान्तहीन, गन्तव्यहीन र आदर्शहहीन बाटोमा धकेलिएको छ’, रावलले भने, ‘एमालेको रंग खुइलिएर बामाले ९बाको मात्र नाम लेउ० मा परिणत भएको छ भन्नु पर्दा अत्यन्त दुःख लागेको लाग्छ ।’
एमालेका पूर्वउपाध्यक्षसमेत रहेका रावलले एमालेको विकल्पमा पार्टी निर्माणको राष्ट्रिय अभियान सञ्चालन गर्ने पनि घोषणा गरे ।
‘मातृभूमि जागरण अभियान सञ्चालन गरी देश र जताको हक र हितका लागि सबै देशभक्त इमान्दार शक्ति, व्यक्ति र समुदायलाई एकता गर्नुपर्छ,’ उनले भने ।
राष्ट्रिय अभियान हुँदै वैकल्पिक पार्टी निर्माण गर्दा देश र जनतासँग सम्बन्धित समग्र विचार, कार्यक्रम र नीतिलाई ध्यान दिइने उनको भनाइ छ ।
‘देश र प्रवासमा अभियान सञ्चालन गर्दै देशभक्तिपूर्ण वैकल्पिक राजनीतिक शक्तिको निर्माण अपरिहार्य बनेको छ । यसैतर्फ हाम्रा पाइला र प्रयासहरू अगाडि बढ्नेछ’, नेता रावलले भने ।