सर्‍यो सांसद अरुण चौधरीको योग्यतासम्बन्धी मुद्दाको फैसला

सर्‍यो सांसद अरुण चौधरीको योग्यतासम्बन्धी मुद्दाको फैसला

काठमाडौं, १७ पुस । सर्वोच्च अदालतले कैलाली–२ बाट निर्वाचित नागरिक उन्मुक्ति पार्टीका सांसद अरुण चौधरीको योग्यतासम्बन्धी मुद्दाको फैसला सुनाउने मिति सारेको छ ।

चौधरीको योग्यतामाथि प्रश्न उठाएर दायर गरिएको रिट निवेदनमाथिको सुनुवाइपछि संवैधानिक इजलासले १७ पुसमा निर्णय सुनाउने भनी मिति तोकेको थियो । सर्वोच्च अदालतले बुधबार निर्णय सुनाउने मिति सारेको हो। यद्यपी, निर्णय सुनाउने अर्को मिति सर्वोच्चले तोकेको छैन ।

प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत सहित न्यायाधीशहरु सपना प्रधान मल्ल, कुमार रेग्मी, हरि फुयाल र डा.मनोजकुमार शर्माको इजलासले चौधरी प्रतिनिधिसभा सदस्य बन्न योग्य छन् वा छैनन् भन्ने विवादमाथि सुनुवाइ गरिसकेको छ ।

उनी प्रतिनिधिसभा सदस्य बन्न योग्य नभएको भन्दै उनलाई निर्वाचित गर्ने निर्वाचन अधिकृतको निर्णय बदर गरेर फेरि निर्वाचन गराउनुपर्ने अधिवक्ता बसन्त जोशीले माग गरेका थिए ।

कुनै संघीय सांसदको योग्यताको विषयमा प्रश्न उठेमा सर्वोच्च अदालतको संवैधानिक इजलासले त्यसलाई टुंगो लगाउने संवैधानिक व्यवस्था छ ।